२ सय ५५ असहाय तथा अपाङ्ग नागरिकलाई फाइबर सिरक वितरण

सप्तरी, ३० पुष । चिसो मौसमका कारण असहाय, विपन्न तथा अपाङ्ग नागरिक स्वास्थ्य जोखिममा नपरुन् भन्ने उद्देश्यले सप्तरीको राजगढ गाउँपालिकाले २ सय ५५ जनालाई फाइबर सिरक वितरण गरेको छ ।
गाउँपालिकाको आयोजनामा वडा नं. १ देखि ६ सम्मका ‘क’ र ‘ख’ वर्गमा सूचीकृत अपाङ्ग तथा असहाय नागरिकलाई लक्षित गर्दै सिरक वितरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले चिसोका कारण जेष्ठ नागरिक तथा असहाय वर्ग सितलहरको पीडामा नपरोस् भन्ने उद्देश्यले सिरक वितरण गरिएको बताए ।
उनले सामाजिक सुरक्षाको दायित्व पालिकाको भएकाले जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिको हेरचाह तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झाले पालिकाको सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्ग तथा असहाय नागरिकलाई सहयोग कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिँदै आएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेणु देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा, अपाङ्ग समन्वय समिति सदस्य रामचन्द्र यादव, सेभ द नेपाल सप्तरीका जिल्ला संयोजक विरेन्द्र कुमार साह तथा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
पालिकाले आगामी दिनमा पनि लक्षित वर्गका लागि यस्ता राहत तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

