जनकपुरधाम, ३० पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विद्यमान सुरक्षा चुनौतीका बाबजुद आगामी निर्वाचनलाई सफल, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।

बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री यादवले पछिल्लो समय देखा परेका विभिन्न सुरक्षा संवेदनशील अवस्थाले निर्वाचनलाई चुनौतीपूर्ण बनाएको उल्लेख गरे ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै फिर्ता नआएको, केही कैदी जेलबाट फरार रहेको तथा सुरक्षाकर्मीका लागि आवश्यक सामग्रीको अभाव जस्ता विषयले सुरक्षा जोखिम बढाएको उनको भनाइ थियो ।

‘यस्ता अवस्थाबीच पनि नागरिकले निर्भीक भएर मतदान गर्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख जिम्मेवारी हो,’ उनले भने, ‘निर्वाचन सफल बनाउन सुरक्षा निकाय, प्रशासन र राजनीतिक पक्षबीच उच्चस्तरीय समन्वय आवश्यक छ ।’

मुख्यमन्त्री यादवले पछिल्लो समय मधेश प्रदेशमा देखिएका सम्प्रदायिक, जातीय तथा धार्मिक विवादप्रति समेत सचेत रहनुपर्नेमा जोड दिए ।

यस्ता विवादले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले समयमै नियन्त्रण र व्यवस्थापन जरुरी रहेको उनले बताए ।

सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा निकायका प्रमुखहरूलाई उनले सम्भावित जोखिमको पहिचान गर्दै पूर्वतयारीमा जुट्न निर्देशनसमेत दिएका थिए ।

आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको मुख्यमन्त्री यादवको निष्कर्ष थियो ।