सर्लाही, ३० पुष । सर्लाहीको बलरा नगरपालिकामा सञ्चालित एक तालिम कार्यक्रममा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख रामशंकर प्रसाद कुशवाहासहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ‘किशोरीहरूको लागि खेलौना बनाउने तालिम’ शीर्षकमा सञ्चालन गरिएको कार्यक्रम ३० दिन चल्ने भनिए पनि वास्तविक रूपमा जम्मा ५ दिनमै सकिएको पाइएको छ ।

तालिम पूरा नगरी झुट्टा बिल–भर्पाई, नक्कली प्रतिवेदन र सहभागीहरूको कीर्ते हस्ताक्षर तयार गरी ३ लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी गरिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

आयोगका अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणले तालिम सहभागीहरूको हस्ताक्षर समेत नक्कली रहेको पुष्टि गरेको छ ।

उक्त अनियमिततामा संलग्न रहेको ठहर गर्दै आयोगले मेयर कुशवाहासँगै वडा अध्यक्ष मनोज मोहनकुमार सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, योजना शाखा प्रमुख उदयकुमार साह र सहायक लेखापाल राजकुमार महतोलाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी, तालिम सञ्चालन गर्ने संस्था शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेशकुमार पासवान र जाजुल मिया कवारी पनि मुद्दामा तानिएका छन् ।

आयोगले उनीहरूमाथि ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगो बराबरको जरिवाना सजायको माग दाबी गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।