प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, धनुषाका सबै कार्यालयसँग कर्मचारी विवरण माग

जनकपुरधाम, ३० पुष । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पार्दै प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले धनुषा जिल्लाका सबै सरकारी तथा सम्बन्धित कार्यालयसँग कर्मचारी विवरण माग गरेको छ ।
प्रदेश निर्वाचन अधिकारी रोम बहादुर महतद्वारा जारी पत्रअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ४ को उपदफा २ र ३ बमोजिम निर्वाचनमा खटाउन सकिने जनशक्तिको विवरण संकलन गर्न लागिएको हो ।
यसका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, सरकारी अनुदानमा सञ्चालित संस्था, विश्वविद्यालय तथा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।
पत्रमा तोकिएको ढाँचाअनुसार अनुसूची–१ र अनुसूची–२ मा कर्मचारी विवरण भरी पाँच दिनभित्र प्रदेश निर्वाचन कार्यालय धनुषामा पठाउन अनुरोध गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार आवश्यक ढाँचा कार्यालयको आधिकारिक फेसबुक पेजबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । संकलित विवरण ई–मेलमार्फत पठाउन भनिएको छ ।
निर्वाचनको पूर्वतयारीअन्तर्गत जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन कर्मचारी विवरण संकलन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन कार्यालयको भनाइ छ ।
कार्यालयले सबै सम्बन्धित निकायलाई समयमै विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
प्रदेश निर्वाचन कार्यालयले ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन: राष्ट्रको गौरव’ भन्ने नारासहित निर्वाचन तयारीलाई व्यवस्थित बनाइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

