९ बुँदे घोषणापत्रमार्फत पत्रकारिता सुधारको प्रतिबद्धता

जनकपुरधाम, २९ पुष । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको प्रदेश सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गरेको छ ।
महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) को दफा १४ (२) बमोजिम धनुषाको मिथिलाबिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा आयोजित सम्मेलनले नेपाली पत्रकारिता गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा प्रविधिको तीव्र विकाससँगै पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम, सीप विकास र प्रविधिमैत्री पत्रकारिता अपरिहार्य भएको उल्लेख गरिएको छ ।
पत्रकार पलायन रोकथाम, आचारसंहिता पालनामा कडाइ तथा सञ्चारमाध्यम सञ्चालनमा देखिएका संरचनागत चुनौती समाधानका लागि महासंघ केन्द्र र प्रदेश तहबाट सक्रिय भूमिका निर्वाह गरिने बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमको दिगोपनाका लागि सरकारी विज्ञापनलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने पहल गरिने घोषणापत्रमा उल्लेख छ । साथै, बदलिँदो सञ्चार परिवेशअनुसार पत्रकारलाई जिम्मेवार, प्रभावकारी र सबल बनाउन तालिम तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

घोषणापत्रले पत्रकार आचारसंहिता पालनामा कडाइ गर्ने, ‘प्रेस’ शब्दको बढ्दो दुरुपयोग नियन्त्रण गर्न कानुनी तथा नीतिगत पहल गर्ने र युट्युबलगायत विद्युतीय सञ्चारमाध्यमलाई अवसरका रूपमा लिँदै तिनको मर्यादित र जिम्मेवार सञ्चालनका लागि मार्गदर्शन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
प्रदेश सरकारसँग सञ्चारमाध्यमलाई उद्योगका रूपमा मान्यता दिन माग गरिने बताउँदै घोषणापत्रमा पत्रकारिता क्षेत्रमा आजीवन योगदान पुर्याएका नेपाल पत्रकार महासंघका पूर्व सभापति स्वर्गीय होमनाथ दहालसहित मधेश प्रदेश तथा देशभरका दिवंगत पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सम्मेलन सफल बनाउन सहयोग गर्ने महासंघका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सल्लाहकार, आठै जिल्लाका शाखा, मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण तथा सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरिएको महासंघ मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो क्रान्तिले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

