२४ घण्टाभित्र कर्मचारी फिर्ता गर्न स्वास्थ्य मन्त्रालय मधेश प्रदेशको निर्देशन

जनकपुरधाम, २९ पुष । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा खटाइएका कर्मचारीहरुलाई तत्काल फिर्ता गर्ने निर्देशन जारी गरेको छ ।
मन्त्रालयले २०७७ सालको प्रदेश निजामती सेवा ऐनको दफा २६ बमोजिम खटाइएका कर्मचारीलाई २४ घण्टाभित्र फिर्ता नगरेमा जिम्मेवारी कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखमा पर्ने चेतावनी पनि दिएको छ ।
मन्त्रालयले पठाएको पत्र अनुसार फिर्ता हुन बाँकी कर्मचारीहरुलाई पत्र प्राप्त भएको मितिदेखि नै काज फिर्ता गर्नुपर्ने उल्लेख छ । प्रदेश सचिव डा. प्रमोद कुमार यादवले मुख्यमन्त्रीको निर्देशनअनुसार सबै कार्यालय प्रमुखलाई जानकारी गराएका छन् ।
यस आदेशले प्रादेशिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यालय, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य निर्देशनालय सपही र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा काम गर्ने कर्मचारीलाई समेटेको छ ।
मन्त्रालयले नागरिकको स्वास्थ्य सेवामा अवरोध नपरोस् भन्ने उद्देश्यका साथ यो निर्णय लिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

