सब–इन्जिनियर झा विशेष अदालतबाट दोषी ठहर

सप्तरी, २९ पुष । विशेष अदालतले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर दिपेन्द्र कुमार झालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको ठहर गर्दै दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार झाविरुद्धको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको हो ।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार झाले सब–इन्जिनियर पदमा करार नियुक्ति लिनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।
अदालतको फैसलाअनुसार झाले डिप्लोमा इन सिभिल इन्जिनियरिङको एकेडेमिक ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयअन्तर्गत वेस्टर्न रिजन क्याम्पस, पोखराबाट उत्तीर्ण गरेको भनी चारित्रिक प्रमाणपत्रसहित नक्कली कागजात पेश गरी नियुक्ति लिएको पुष्टि भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको देखिएपछि गत असार ३ गते विशेष अदालतमा झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो । मुद्दाको सुनुवाइपछि अदालतले नक्कली प्रमाणपत्र प्रयोग गरी सार्वजनिक पदमा नियुक्ति लिएको ठहर गर्दै दोषी ठहर गरेको हो ।
यस फैसलासँगै सार्वजनिक निकायमा नियुक्तिका क्रममा शैक्षिक योग्यताको सत्यापनलाई थप कडाइका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

