नगर प्रहरी खटाएर जनकपुरधाम उपमहानगरले फुटपाथ खाली गर्दै

जनकपुरधाम, २९ पुष । जनकपुरधाम उपमहानगरपालिकाले नगर प्रहरी खटाएर फुटपाथ अतिक्रमण हटाउने काम सुरु गरेको छ ।
धार्मिक तथा पर्यटकीय नगरीको पहिचान जोगाउँदै पैदल यात्रु, तीर्थालु र पर्यटकको आवतजावत सहज बनाउन नगर प्रहरीले फुटपाथ खाली गराउँदै अभियान तीव्र पारेको हो ।
उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न उद्योगी, व्यापारी तथा व्यवसायीलाई आग्रह गरेको थियो । सूचनाको समयावधि सकिएपछि नगर प्रहरीले विभिन्न स्थानमा फुटपाथमा राखिएका पसल, ठेला तथा अस्थायी संरचना हटाउन थालेको जनाइएको छ ।
उपमहानगरपालिकाका अनुसार फुटपाथ सर्वसाधारणको हिँडडुलका लागि निर्माण गरिएको भए पनि अतिक्रमणका कारण पैदल यात्रुहरू सडकमा हिँड्न बाध्य भएका थिए । यसले दुर्घटनाको जोखिम बढाउनुका साथै नगरको सौन्दर्यीकरणमा समेत असर पुगेको थियो ।
नगर प्रहरीले फुटपाथ खाली गराउने क्रममा व्यापारीहरूलाई आफ्नै निजी हाताभित्र व्यापार–व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । अभियानमा अवरोध नगरी सहयोग गर्न उपमहानगरपालिकाले सबै व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
उपमहानगरपालिकाले नगर क्षेत्रलाई अतिक्रमणमुक्त बनाउँदै ‘धार्मिक, सांस्कृतिक तथा पर्यटकीय समृद्ध नगर जनकपुरधाम’ निर्माण गर्ने लक्ष्यअनुसार यस्ता अभियान निरन्तर चलाइने जनाएको छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

