जनकपुरधाम, २९ पुष । जनकपुरधामस्थित राराब क्याम्पसमा लामो समयदेखि प्रशासनिक लापरवाही, आर्थिक अनियमितता र पदको दुरुपयोग भइरहेको आरोप लगाउँदै संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई तीन दिनको अल्टिमेटम दिएको छ ।

संयुक्त विद्यार्थी संगठनले मंगलबार क्याम्पस प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा बिबिए शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर दिपु कुमार राईले त्रिभुवन विश्वविद्यालयको आधिकारिक एडमिन पोर्टलको दुरुपयोग गरी क्याम्पस गेट नजिकै रहेको आफ्नै निजी ‘डिभ्यांशु स्टेशनरी एण्ड कम्युनिकेसन’बाट विद्यार्थीहरूबाट गैरकानुनी रूपमा रकम असुली गरेको आरोप लगाइएको छ । उक्त विषय पुष २२ गते सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यममार्फत सार्वजनिक भएको दाबी गरिएको छ ।

ज्ञापनपत्रमा यस प्रकारको कार्यलाई संस्थागत भ्रष्टाचार, प्रशासनिक अपराध तथा विद्यार्थी अधिकारमाथिको आक्रमणका रूपमा व्याख्या गरिएको छ ।

क्याम्पस प्रमुख तथा सम्बन्धित निकायको मौनताका कारण यस्ता अनियमितता थप मौलाउँदै गएको भन्दै विद्यार्थी संगठनले गम्भीर आपत्ति जनाएको छ ।

संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रशासनसमक्ष पाँच बुँदे माग अघि सारेको छ ।

मागहरूमा सहायक कम्प्युटर अपरेटर राईलाई प्रदान गरिएको सम्पूर्ण एडमिन पोर्टल तत्काल खारेज गरी जिम्मेवारीबाट हटाउनुपर्ने, २०८१ सालको परीक्षामा सहभागी ३९ जना विद्यार्थीको परिणाम प्रकाशन नहुनुको समस्या तुरुन्त समाधान गर्नुपर्ने, सम्बन्धित शाखाको काम सम्बन्धित शाखामै हुने व्यवस्था मिलाउनुपर्ने, नियमित कक्षा सञ्चालन तथा शिक्षकहरूको अनिवार्य उपस्थितिको व्यवस्था सुनिश्चित गर्नुपर्ने र विद्यार्थीका शैक्षिक तथा प्रशासनिक समस्या शाखामार्फत मात्र समाधान हुने बाध्यकारी व्यवस्था लागू गर्नुपर्ने उल्लेख छ ।

विद्यार्थी संगठनले चेतावनी दिँदै तीन दिनभित्र मागहरू कार्यान्वयन नभए चरणबद्ध आन्दोलन, क्याम्पस प्रशासन घेराउ तथा कडा संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

आन्दोलनका क्रममा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको छ ।

ज्ञापनपत्रमा नेविसंघ, लोविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र जनमत विद्यार्थी संघका एकाइ अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त हस्ताक्षर रहेको छ ।