काठमाडौं, २७ पुष । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शहिद पत्रकार उमा सिंहले देखाएको निर्भीक, निडर र प्रतिबद्ध पत्रकारिताको मार्गलाई अझ सुदृढ गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनले सत्य, न्याय र समानताका पक्षमा उमा सिंहले थालेको पत्रकारिताको अभियान आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

मधेशी पत्रकार समाज नेपालद्वारा काठमाडौंमा आयोजित शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवस तथा उमा सिंह पत्रकारिता सम्मान कार्यक्रम–२०८२ मा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेश प्रमुख कर्णले उमा सिंह केवल समाचार संकलन गर्ने पत्रकार मात्र नभई मधेशको आवाजका रूपमा स्थापित भएको उल्लेख गरे । उनले मधेशका सामाजिक, राजनीतिक र विशेषतः महिला अधिकारका मुद्दामा उमा सिंहले निर्भीकताका साथ कलम चलाएको स्मरण गरे ।

प्रदेश प्रमुख कर्णले भने, ‘उमा सिंहले मधेशमा महिला पत्रकारिताको बलियो आधार निर्माण गरेकी थिइन् । उनले उठाएका विषय र देखाएको साहसले आज पनि महिला पत्रकारहरूलाई हौसला दिइरहेको छ र पत्रकारितामा अघि बढ्ने बाटो खोलिदिएको छ ।’

कार्यक्रममा वक्ताहरूले उमा सिंहले पेशागत कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाउनुपरेको घटनालाई स्मरण गर्दै सत्य र निष्पक्ष पत्रकारिताको सुरक्षा राज्यको प्रमुख दायित्व हुनुपर्नेमा जोड दिएका थिए । साथै प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र मधेशी पत्रकारहरूको वर्तमान अवस्था सुधारका विषयमा पनि छलफल गरिएको थियो ।

स्मृति दिवसकै अवसरमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल टेलिभिजनकी पत्रकार श्वेता सिन्हा तथा नेपालगञ्जकी पत्रकार निलम शर्मालाई प्रदेश प्रमुख कर्णले उमा सिंह पत्रकारिता सम्मानबाट सम्मानित गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्मा, आमसञ्चार प्राधिकरणका संस्थापक अध्यक्ष श्यामसुन्दर यादव, पत्रकार श्वेता सिन्हालगायत वक्ताहरूले उमा सिंहको व्यक्तित्व, योगदान र उनको साहसिक पत्रकारिताबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहनकुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।