जनकपुरधाम, २७ पुष । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले देश तथा प्रदेशको शैक्षिक अवस्था सुधारमा निजी व्यवसायिक विद्यालयहरूको योगदान उल्लेखनीय रहेको बताएका छन् ।

उनले शिक्षालाई समृद्धिको प्रवेशद्वारका रूपमा चित्रण गर्दै शिक्षा सुधारलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

धनुषा प्याब्सनको दोस्रो जिल्ला परिषद् भेलाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सभामुख यादवले सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने धारणा राखे । उनले शिक्षामा लगानी र सुधारका दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न सरकार, निजी विद्यालय र सरोकारवालाहरूबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।

धनुषा प्याब्सनका अध्यक्ष नवल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले शिक्षा क्षेत्रका चुनौती र अवसरबारे धारणा राखेका थिए । सन्त कबिर बाल आश्रमका संस्थापक तथा समाजसेवी सन्त सत्यनारायण आलोकले मूल्य–आधारित शिक्षाको आवश्यकता औँल्याउँदै निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात गर्नुपर्ने बताए ।

प्याब्सन मधेश प्रदेश सचिव विष्णु न्यौपानेले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्दै गुणस्तर अभिवृद्धिका लागि नीति र व्यवहारबीचको दूरी घटाउनुपर्नेमा जोड दिए । शिक्षा समन्वय समिति धनुषाका अध्यक्ष चेतनाथ पोख्रेलले निजी र सामुदायिक विद्यालयबीच सहकार्य बढाएर शिक्षा सुधारको साझा लक्ष्यमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विश्वलाल सिंह, डिके चौधरीलगायतका वक्ताहरूले पनि निजी व्यवसायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधार, पहुँच विस्तार र नवीन शिक्षण विधि अपनाउन खेलेको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।