सिरहा, २७ पुष । सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सीमा क्षेत्रमा गरिएको नियमित चेकजाँचका क्रममा नगदसहित युवक पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा सिरहाबाट खटिएको टोलीले आइतबार दिउँसो करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दसगजा क्षेत्र नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गरिरहेको बेला उक्त कारबाही गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार चेकजाँचका क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेका भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादवलाई शंका लागेर रोकिएको थियो । जाँच गर्दा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नगदसँगै यादवले प्रयोग गरेको एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएको रकम र सामग्रीको वैध स्रोत पुष्टि हुन नसकेपछि आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध नगद ओसारपसार तथा तस्करी नियन्त्रणका लागि सुरक्षा निगरानी थप कडा पारिएको बताए । उनले पछिल्लो समय सीमा नाकाहरूमा चेकजाँचलाई प्रभावकारी बनाउँदै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी राखिएको जानकारी दिए ।

स्थानीयस्तरमा अवैध कारोबार तथा नगद ओसारपसारका घटनाहरू बढ्दै गएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित गस्ती र आकस्मिक जाँचलाई तीव्र बनाएको जनाएको छ । सुरक्षा निकायले यस्ता गतिविधि नियन्त्रणका लागि सर्वसाधारणलाई समेत सहकार्य गर्न आग्रह गरेको छ ।