शहिद पत्रकार उमा सिंहको स्मृति दिवसमा पत्रकारहरूको स्वास्थ्य परीक्षणसहित श्रद्धाञ्जली सभाको आयोजना

जनकपुरधाम, २७ पुष । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसका अवसरमा आइतबार दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।
पत्रकारहरूको स्वास्थ्य र सम्मानलाई प्राथमिकतामा राख्दै शाखाले निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम तथा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
बिहान महासङ्घ धनुषा शाखाको कार्यालय परिसरमा आयोजित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा धनुषा जिल्लाका ५० जना पत्रकारहरूले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको हाइटेक प्याथोलोजी ल्याबको सहकार्यमा सम्पन्न कार्यक्रममा सहभागी पत्रकारहरूको रक्तचाप, मधुमेह, लिपिड प्रोफाइल तथा युरिन परीक्षण निशुल्क गरिएको थियो ।
महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन साहले श्रमजीवी पत्रकारहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम आयोजना गरिएको बताए । जाडो मौसम र व्यस्त कार्यतालिकाबीच पनि पत्रकारहरूले स्वास्थ्यप्रति चासो दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, बेलुकी महासङ्घ भवन अगाडि शहिद पत्रकार उमा सिंहको स्मरणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । कार्यक्रममा अग्रज पत्रकार, क्रियाशील पत्रकार, महासङ्घका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली सभामा सहभागीहरूले उमा सिंहले पत्रकारिताको क्षेत्रमा दिएको योगदान र सत्यका लागि ज्यानसमेत आहुति दिएको साहसिक यात्राको स्मरण गर्दै उनीप्रति श्रद्धा अर्पण गरेका थिए । वक्ताहरूले शहिद पत्रकार उमा सिंह पत्रकारितामा निडरता, सत्य र सामाजिक न्यायका प्रतीकका रूपमा सदैव स्मरणीय रहने उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारहरूको स्वास्थ्य सुरक्षा र शहिद पत्रकारप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएका दुवै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । शाखाले आगामी दिनमा पनि पत्रकारहरूको हित र सम्मानसँग जोडिएका यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


