धनुषामा प्रतिनिधिसभा निर्वाचनका लागि ४,५२७ निर्वाचन प्रहरी भर्ना गरिने

जनकपुरधाम, २६ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा चार हजार पाँच सय २७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको हो ।
सूचनाअनुसार निर्वाचन प्रहरी पदमा आवेदन दिन इच्छुक व्यक्तिले १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ । आवेदन दिने अन्तिम मिति माघ १ तोकिएको छ ।
निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोके अनुसार हुनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९.४० रुपैयाँ दरले ४० दिनको पारिश्रमिक ३४ हजार ७७६ रुपैयाँ प्रदान गरिने छ ।
ययससँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दहालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी भइरहेको उल्लेख छ ।
धनुषामा हाल चार लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् । चार निर्वाचन क्षेत्रमा ३२२ मतदान स्थल र ६४५ मतदान केन्द्र निर्माण भइसकेका छन् ।
प्रशासनका अधिकारीहरूले मतदाता र निर्वाचनमा संलग्न सबै पक्षलाई संयमित र नियमबद्ध रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

