जनकपुरधाम, २६ पुष । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पुष २७ गते आइतबार शहिद पत्रकार उमा सिंहको १७औं स्मृति दिवसका अवसरमा दुईवटा महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न लागेको छ ।

शाखाले धनुषाका पत्रकारहरूको स्वास्थ्यमा संवेदनशील हुँदै निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा आयोजना गर्न लागेको हो ।

शाखाका अध्यक्ष पुरन साहका अनुसार बिहान ७ बजे महासङ्घको कार्यालय परिसरमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि महासङ्घले जनकपुरधामको प्रादेशिक अस्पताल अगाडि रहेको हाइटेक प्याथोलोजी ल्याबसँग सेवा सम्झौता गरेको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरूलाई रक्तचाप, मधुमेह, लिपिड प्रोफाइल र युरिन जाँच सहितका परीक्षण निशुल्क गरिनेछ । अध्यक्ष साहले पत्रकारहरूलाई निर्धारित समयमा खाली पेट उपस्थित हुने अनुरोध समेत गरेका छन् ।

‘श्रमजीवी पत्रकारहरूको लागि स्वास्थ्य नै सबैभन्दा अमूल्य सम्पत्ति हो । जाडोको यस प्रतिकुल मौसममा पनि हामीले यस्तो कार्यक्रम राखेका हौं ताकि पत्रकार साथीहरू स्वस्थ रहुन्,’ अध्यक्ष साहले भने ।

त्यसैगरी, सोही दिन बेलुकी ४:३० बजे महासङ्घ भवन अगाडि शहीद पत्रकार उमा सिंहको स्मरणमा श्रद्धाञ्जली सभा आयोजना हुनेछ । कार्यक्रममा धनुषा जिल्लाका अग्रज पत्रकार, कार्यरत क्रियाशील पत्रकार र महासङ्घका सदस्यहरूको उपस्थिति रहने विश्वास गरिएको छ ।

महासङ्घ धनुषा शाखाले सम्पूर्ण सदस्य पत्रकारहरूलाई स्वास्थ्य परीक्षणमा उपस्थित हुन र श्रद्धाञ्जली कार्यक्रममा सहभागिता जनाउन अपिल गरेको छ ।

शाखाले यस किसिमका कार्यक्रमहरू पत्रकारहरूको स्वास्थ्य र सम्मान दुवैलाई प्राथमिकतामा राखेर आयोजना गरिएको बताएको छ ।