मारवाडी युवा दिवसमा ९६ जनाले गरे रक्तदान

जनकपुरधाम, २६ पुष । जनकपुरधामस्थित मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरी मनाएको छ ।
रक्तदान, मानवसेवा आश्रममा भोजन वितरण तथा युवा भेलामार्फत कार्यक्रम सम्पन्न गरिएको हो ।
मञ्चका अध्यक्ष राहुल सिंघानियाका अनुसार शनिबार जनकपुरधामको जनक मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९६ जनाले स्वस्फूर्त रूपमा रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको उनले जानकारी दिए ।
‘रक्तदान जस्तो मानवसेवाको कार्यमा सहभागी हुने सबै दाताप्रति मञ्च आभारी छ,’ अध्यक्ष सिंघानियाले भने, ‘तीनदिने कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।’
स्थापना दिवसको अवसरमा मञ्चले जनकपुरधामस्थित मानवसेवा आश्रममा आश्रितहरूलाई भोजनसमेत उपलब्ध गराएको छ । यस्तै, मारवाडी युवा भेलाको आयोजना गरी विभिन्न खेलकुद तथा अन्तरक्रियामार्फत युवाहरूको क्षमता अभिवृद्धि र आपसी एकता सुदृढ गर्ने उद्देश्य राखिएको अध्यक्ष सिंघानियाले बताए ।
मारवाडी युवा मञ्चले सामाजिक उत्तरदायित्व र युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


