जनकपुरधाम, २६ पुष । धनुषा जिल्लाको मिथिला नगरपालिका–२ नक्टाझिज सुखजोरमा ऐलानी जग्गा कब्जाको विषयलाई लिएर भएको विवाद झडपमा परिणत हुँदा करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको आरोप लगाउँदै जग्गा खाली गराउन पुगेका स्थानीय बासिन्दा र आश्रमका अनुयायीबीच सुरु भएको विवाद उग्र बन्दै ढुङ्गा हानाहानमा परिणत भएको प्रहरीले जनाएको छ । झडपका क्रममा दुवै पक्षका मानिसहरू घाइते भएका हुन् ।

झडपमा परी घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ ।

विवादका कारण जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो । तर, प्रहरीको सक्रियतापछि अहिले सडकमा यातायात सुचारु भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमको नेतृत्वमा खटिएको टोलीले आश्रम पुगेर घटनाको वास्तविक अवस्था र जग्गा सम्बन्धी विवादबारे जानकारी संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।