NRNA NCC USA को नाम प्रयोग गरी फन्डरेजिङ? संस्था भन्छ– अवैध

जनकपुरधाम, २५ पुष । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (NRNA NCC USA) ले आफ्नो नाम, EIN नम्बर तथा आधिकारिक डिजिटल पहिचानको दुरुपयोग गरी संयुक्त राज्य अमेरिकामा अनधिकृत कार्यक्रमहरू सञ्चालन भइरहेको र त्यसमा मानव तस्करी जस्ता गम्भीर गैरकानुनी गतिविधि समेत जोडिएको हुनसक्ने विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ।
NRNA NCC USA ले जारी गरेको प्रेस विज्ञप्तिमा संस्थाको जानकारी, स्वीकृति र आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम, EIN नम्बर तथा वेबसाइट प्रयोग गरी कार्यक्रम आयोजना गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको स्पष्ट गरेको छ । यस्ता गतिविधिले संस्थालाई कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी ठूलो जोखिममा पार्न सक्ने भएकाले विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको बताइएको छ ।
प्रेस विज्ञप्तिमा NRNA NCC USA संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको स्मरण गराउँदै संस्थासँग असम्बन्धित गतिविधि संस्थासँग जोडिन पुगेमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ । यही कारणले संस्थाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपरेको जनाएको छ ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कार्यक्रमका लागि आमन्त्रण गरिएको भन्ने चर्चा चलिरहेको सन्दर्भमा NRNA NCC USA ले खण्डन गरेको छ । विज्ञप्तिअनुसार संस्थाले मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन, न त NRNA NCC USA को तर्फबाट अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।
संस्थाले सार्वजनिक गरेको आधिकारिक धारणा अनुसार NRNA NCC USA को कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित ‘युवा कार्यक्रम’ सँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध छैन । संस्थाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, कोष संकलन (फन्डरेजिङ) वा अन्य गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने स्पष्ट गरिएको छ ।
NRNA NCC USA ले आफ्नो नाम, EIN नम्बर, वेबसाइट वा संस्थाको साख प्रयोग गरी गरिएका कुनै पनि गतिविधिहरूका लागि सम्बन्धित व्यक्ति वा समूह स्वयं पूर्ण रूपमा जिम्मेवार हुने चेतावनी दिएको छ । यस्ता दुरुपयोगमा संलग्न व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, संस्थाले कुनै पनि अनधिकृत कार्यक्रममा सहभागी हुने व्यक्तिहरूको यात्रा, आवास वा अन्य खर्चहरूको जिम्मेवारी नलिने स्पष्ट गरेको छ । यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरूसम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको Homeland Security तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने निर्णयसमेत सार्वजनिक गरिएको छ ।

NRNA NCC USA का प्रवक्ता सन्देश उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै सरोकारवाला निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायका सदस्यहरूलाई यस्ता अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि मात्र संस्थाका मान्य माध्यमहरूमा भर पर्न अनुरोध गरिएको छ ।
संस्थाले आफ्नो आधिकारिक वेबसाइट, इमेल तथा सामाजिक सञ्जालमार्फत मात्र सूचना प्रवाह हुने जनाउँदै कुनै पनि अन्य माध्यमबाट आउने भ्रमपूर्ण सूचना र कार्यक्रमप्रति सतर्क रहन आग्रह गरेको छ । पछिल्लो घटनाक्रमले गैरआवासीय नेपाली समुदायभित्र संस्थाको नाम दुरुपयोग गरी गरिने गतिविधिप्रति थप चनाखो रहनुपर्ने आवश्यकता झनै बढाएको देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


