जसपा र लोसपाको एकता प्रक्रिया अन्तिम चरणमा

जनकपुरधाम, २२ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
पुष १३ गते दुबै पार्टीबीच एकता गर्ने सहमति भइसकेको छ भने सहमतिलाई औपचारिकता दिने काम अहिले नेताहरूबीच जारी रहेको छ ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने र चुनाव चिन्ह छाता नै कायम रहने निर्णय भएको छ । एकीकृत पार्टीमा राष्ट्रिय समन्वय समिति र केन्द्रीय सचिवालय स्थापना गर्ने सहमति पनि भएको छ ।
जसपा नेपालका एक नेताले भने, ‘दुवै पार्टीको संगठन संरचना यथावत् रहनेछ । एउटै समन्वय समिति र केन्द्रीय सचिवालय बनाएर पार्टीको कामकाज अघि बढाइनेछ । चुनावपछि अन्य संरचनालाई पूर्णता दिइनेछ ।’
पार्टी नेतृत्व र चुनावका लागि सिट बाँडफाँडसम्बन्धी कुराकानी पनि जारी छ । एकीकृत पार्टीको कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव रहनेछन् भने लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई सम्मानजनक पदमा राख्ने समझदारी भएको छ ।
छिट्टै सबै विषय टुंग्याएर पार्टी चुनाव तयारीमा अघि बढ्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


