प्रधानमन्त्रीले तीन मन्त्रीसँग मागिन् राजीनामा

काठमाडौं, २२ पुष । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्का तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् ।
राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट अलग हुन सुझाव दिइएको एक मन्त्रीले जानकारी दिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले नागरिक सरकारको चरित्रअनुसार मन्त्रीहरू राजनीतिक गतिविधिमा संलग्न हुन नहुने स्पष्ट पार्दै राजनीतिक रूपमा सक्रिय रहनेहरू मन्त्रिपरिषद्मा रहन नसक्ने बताएको ती मन्त्रीको भनाइ छ ।
बैठकमा विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक सक्रियताप्रति प्रधानमन्त्री बढी गम्भीर देखिएको बताइएको छ ।
कुलमान घिसिङले हालै आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसाएका थिए । सोही क्रममा रास्वपाले उनलाई उपसभापति बनाएको छ । यस घटनाले सरकारभित्रै प्रश्न उठाएको स्रोतको दाबी छ ।
यस्तै खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाका गतिविधिमा सक्रिय रूपमा देखिँदै आएको र सञ्चारमन्त्री जगदीश खरेलले समेत व्यक्तिगत स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ रहेको बताइएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नागरिक सरकारको अवधारणाअनुसार सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो ।
सरकारले आफूलाई दलगत राजनीतिभन्दा अलग राख्दै सुशासन र नागरिक सरोकारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


