जनकपुरधाम, २२ पुष । जिल्ला प्रशासन कार्यालय महोत्तरीले कडा चेतावनीसहित सार्वजनिक अपील जारी गरेको छ ।

महोत्तरी र छिमेकी धनुषा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै निश्चित समुदाय तथा धर्म लक्षित अवैधानिक सामग्री प्रसारण, अमर्यादित अभिव्यक्ति र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कडा चेतावनीसहित सार्वजनिक अपील जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत धार्मिक द्वेष फैलाउने, समुदायबीच विवाद सिर्जना गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको हो । यस्ता गतिविधिले समाजमा आपसी अविश्वास र तनाव बढाउने खतरा रहेकाले प्रशासनले सुरक्षा निकायमार्फत साइबर निगरानी (Cyber Patrol)लाई थप सशक्त बनाएको जनाएको छ ।

प्रशासनले धार्मिक स्थलमा तोडफोड, आगजनी, घृणा फैलाउने अभिव्यक्ति, वादविवादलाई उत्तेजक बनाउने कार्य तथा सामाजिक द्वेष फैलाउने कुनै पनि विध्वंसात्मक गतिविधि पूर्ण रूपमा गैरकानुनी भएको स्पष्ट पारेको छ ।

यस्ता कार्यमा संलग्न व्यक्तिलाई पहिचान गरी कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा प्रचलित कानुनअनुसार हुने सजायको पनि स्मरण गराइएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार धार्मिक स्थल वा पवित्र मानिने स्थानमा क्षति पुर्‍याएमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ । यस्तै, लेख, वचन वा संकेतमार्फत कुनै जात, जाति वा सम्प्रदायको धार्मिक भावनामा आघात पुर्‍याएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको प्रशासनले जनाएको छ ।

त्यसैगरी, विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत घृणा र द्वेष फैलाउने, सामाजिक सद्भाव बिगार्ने वा अमर्यादित सामग्री प्रकाशन तथा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको सूचनामा उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलद्वारा जारी अपीलमा जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्न सबैको सहयोग, समझदारी र एकता अपरिहार्य रहेको बताइएको छ ।

छिमेकी जिल्लामा देखिएका घटनाक्रमको संवेदनशीलतालाई ध्यानमा राख्दै महोत्तरीका सम्पूर्ण नागरिक, धार्मिक संघसंस्था, राजनीतिक दल, सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई संयमित, मर्यादित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

प्रशासनले आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा त्यस्ता क्रियाकलाप देखिएमा तत्काल सुरक्षा निकाय वा प्रशासनलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षको जिम्मेवार सहभागिताबाट मात्र दीर्घकालीन समाधान सम्भव हुने प्रशासनको निष्कर्ष छ ।