सीमाबाट अवैध नगदसहित भारतीय महिला पक्राउ

रौतहट, २१ पुष । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा स्रोत नखुलेको नगदसहित एक भारतीय महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर भन्सार अगाडि खटिएको प्रहरी टोलीले पैदल नेपाल आउँदै गरेकी भारत बिहारको सितामढी जिल्ला बैरगनिया निवासी ४५ वर्षीया रामकली देवीलाई शङ्कास्पद व्यवहार देखिएपछि नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट कुल २ लाख ५० हजार ३ सय ६० रुपैयाँ बराबरको नगद बरामद गरेको जनाएको छ । बरामद रकममा नेपाली नोटहरू १ हजार दरका १८० थान, ५ सय दरका १३३ थान, १ सय दरका ३७ थानसहित भारतीय १ सय दरको एक थान नोट समेत फेला परेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार नगदको वैधानिक स्रोत स्पष्ट गर्न नसक्दा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ ।
सीमा क्षेत्रमा अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी थप गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


