मधेश सबै समुदायको साझा घर हो, एकतामै प्रदेशको शक्ति छ : मुख्यमन्त्री यादव

जनकपुरधाम, २१ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश सबै समुदायको साझा घर भएकाले सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन् ।
उनले मधेशको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने बताए ।
मुख्यमन्त्री यादवले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । उनले हिंसाले कहिल्यै समाधान नदिने भन्दै सदियौँदेखि मिलेर बसेको समाजलाई विखण्डन गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताए ।
धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य रहेको उनको भनाइ छ । यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने भन्दै उनले सबै पक्षलाई जिम्मेवार र संयमी बन्न आग्रह गरे ।
मुख्यमन्त्री यादवले प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको पनि उनले जानकारी दिए ।
सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न जो कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै उनले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गरे । समस्या समाधान सधैँ संवादबाट हुने स्मरण गराउँदै उनले द्वन्द्वले समाजको शान्ति भंग गर्ने बताए ।
मुख्यमन्त्री यादवले पछिल्लो समय भएका क्षति र विध्वंसात्मक गतिविधिप्रति खेद व्यक्त गर्दै मधेश सधैँ शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीकका रूपमा रहिरहने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


