मधेशका अधिकार सुरक्षित गर्न मधेशी शक्ति एक हुनुपर्छ : मण्डल

जनकपुरधाम, २१ पुष । देशको वर्तमान राजनीतिक तरलताबीच मधेशी दलहरूको एकताबारे बहस र दबाब दुवै बढदै गएको छ ।
मधेश आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका नागरिक समाज, बुद्धिजीवी, राजनीतिक विश्लेषक तथा युवाहरूले मधेशी नेतृत्वलाई आपसी मतभेद त्यागेर साझा राजनीतिक मञ्च निर्माण गर्न आग्रह गरेका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख उमेश कुमार मण्डलले मधेशका मूल मुद्दा दलगत विभाजनका कारण कमजोर बन्दै गएको बताएका छन् ।
उनका अनुसार नागरिकता, समावेशी प्रतिनिधित्व, प्रादेशिक अधिकार, समान विकास र पहिचानका सवालहरू अझै अधुरा छन् । तर, ती मुद्दा अघि बढाउनुपर्ने मधेशी शक्ति नै आपसमा विभाजित हुँदा प्रभावकारी दबाब सिर्जना हुन सकेको छैन ।
‘संसद र सरकारमा मधेशी दलहरूको उपस्थिति हुँदाहुँदै पनि निर्णायक भूमिका खेल्न नसक्नु चिन्ताजनक छ,’ मण्डलले भने, ‘यसको प्रमुख कारण आपसी अविश्वास, नेतृत्वको अहंकार र साझा एजेन्डाको अभाव हो ।’
उनका अनुसार मधेश जनआन्दोलनले जन्माएको एकता, बलिदान र संघर्षको भावना अहिले क्रमशः कमजोर बन्दै गएको छ । आन्दोलनको जगमा स्थापित राजनीतिक शक्तिहरू नै फुट र स्वार्थमा अल्झिँदा राष्ट्रिय राजनीतिमा मधेशको आवाज अपेक्षाकृत कमजोर भएको उनले टिप्पणी गरे ।
मण्डलले समयमै मधेशी दलहरू एकजुट हुन नसके मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरू नै जोखिममा पर्न सक्ने चेतावनी दिए । ‘संविधान संशोधन, अधिकारको कार्यान्वयन र संघीयताको पूर्णता जस्ता विषयमा साझा धारणा बिना मधेशका अधिकार सुरक्षित हुन सक्दैनन्,’ उनले भने ।
उनका अनुसार अहिलेको अवस्था केवल क्षेत्रीय मात्र नभई राष्ट्रिय राजनीतिक संकटसँग पनि जोडिएको छ । ‘देश राजनीतिक अस्थिरताबाट गुज्रिरहेको अवस्थामा मधेशी दलहरूको एकता राष्ट्रिय आवश्यकता बनेको छ,’ मण्डलले भने, ‘मधेश बलियो भए मात्र संघीयता बलियो हुन्छ ।’
राजनीतिक विश्लेषकहरू पनि मधेशी नेतृत्वको एकतालाई समयको माग मान्छन् । उनीहरूका अनुसार मधेश केन्द्रित दलहरू यदि साझा न्यूनतम एजेन्डामा सहमत भई संयुक्त नेतृत्व विकास गर्न सके भने मात्र राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्न सक्छन् ।
अहिले मधेशमा बढ्दो असन्तुष्टि, युवाहरूको निराशा र आन्दोलनप्रतिको वितृष्णालाई सम्बोधन गर्न पनि एकीकृत राजनीतिक दिशा आवश्यक रहेको मण्डलको भनाइ छ । ‘अब आउने दिनहरूले मधेशी नेतृत्वले यस चुनौतीलाई अवसरमा बदल्न सक्छ कि सक्दैन भन्ने तय गर्नेछ,’ उनले भने ।
मधेश आन्दोलनको भावना जोगाउने कि इतिहासमै सीमित बनाउने भन्ने सवाल आजको मधेशी राजनीतिका लागि सबैभन्दा ठूलो परीक्षा बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


