विद्यालय पोशाक अनिवार्य र चर्को साउण्ड निषेध हुनुपर्छ : अध्यक्ष ठाकुर

जनकपुरधाम, २० पुष । एनप्याब्सन जनकपुरधामका अध्यक्ष दिपक कुमार ठाकुरले अभिभावक तथा विद्यालयहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
सरस्वती पूजाका नाममा विद्यार्थी केन्द्रित रूपमा देखिँदै गएको अनावश्यक खर्च, अनुशासनहीनता र सामाजिक विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष ठाकुरले सरस्वती पूजाको दिन विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालय पोशाककमै उपस्थित हुनुपर्ने बताउँदै पूजाको बहानामा नयाँ पोसाक किनमेल नगर्न अभिभावकहरूलाई अपिल गरेका छन् ।
‘सरस्वती पूजा ज्ञान, अनुशासन र संस्कारसँग जोडिएको पर्व हो । यसलाई देखावटी र खर्चिलो बनाउने होडबाजीले यसको मूल मर्ममाथि आघात पुर्याइरहेको छ,’ उनले भने ।
उनका अनुसार पछिल्लो समय सरस्वती पूजाका दिन विद्यार्थीहरू समूह बनाएर विद्यालय समयभन्दा बाहिर अनियन्त्रित रूपमा हिँड्ने, अभिभावकलाई जानकारी नदिई ढिलोसम्म बाहिर बस्ने तथा भीडभाडमा अल्झिने प्रवृत्ति बढ्दै गएको छ । यसले विद्यार्थीको सुरक्षामाथि प्रश्न उठाउनुका साथै सामाजिक अनुशासनमा समेत नकारात्मक प्रभाव पारेको अध्यक्ष ठाकुरको भनाइ छ ।
‘अभिभावकहरूले आफ्ना छोराछोरी कति बजे विद्यालय निस्किएका हुन् र कति बजे घर फर्किन्छन् भन्ने विषयमा सम्बन्धित विद्यालयसँग अनिवार्य समन्वय गर्नुपर्छ,’ उनले भने, ‘यसले पूजाको नाममा फैलिँदै गएको विकृति नियन्त्रण गर्न ठूलो सहयोग पुग्छ ।’
अध्यक्ष ठाकुरले सरस्वती पूजाका अवसरमा चर्को साउण्ड, डिजे र अशोभनीय गीत संगीतको प्रयोग बढ्दै गएकोप्रति पनि गम्भीर आपत्ति जनाए ।
उनका अनुसार अत्यधिक आवाजमा बजाइने डिजेले विद्यार्थीको मानसिक स्वास्थ्य, पढाइको वातावरण र सामाजिक मर्यादामा प्रतिकूल असर पारिरहेको छ । ‘ज्ञानकी देवी सरस्वतीको पूजा शान्त, सभ्य र मर्यादित वातावरणमा हुनुपर्छ,’ उनले भने, ‘डिजे, चर्को साउण्ड र उच्छृंखल गतिविधिले पूजालाई उत्सव नभई अव्यवस्था बनाइरहेको हुन्छ ।’
एनप्याब्सन जनकपुरधामले विद्यालयहरूलाई पूजाका दिन अनुशासन, समय व्यवस्थापन र शान्त वातावरण कायम गर्न आन्तरिक निर्देशन जारी गर्न आग्रह गरेको छ ।
साथै, स्थानीय प्रशासन, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीच सहकार्य गरेर सरस्वती पूजालाई शैक्षिक र सांस्कृतिक मूल्यसँग जोडेर मनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
अध्यक्ष ठाकुरले भने, ‘हामी सबैको साझा प्रयास बिना विद्यार्थीलाई सही बाटोमा डोर्याउन सकिँदैन । सरस्वती पूजा ज्ञान, संस्कार र अनुशासनको पर्व हो । यसलाई विकृतिबाट जोगाउनु आजको आवश्यकता हो ।’
एनप्याब्सन जनकपुरधामले सबै विद्यालय, अभिभावक तथा सरोकारवाला निकायलाई मर्यादित, शान्त र सुरक्षित रूपमा सरस्वती पूजा सम्पन्न गर्न सहयोग र सहकार्यका लागि अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


