मैथिली गद्य कवि रुद्रनारायण झा ‘मडइ’को स्मृतिमा श्रद्धाञ्जलिसभा

जनकपुरधाम, २० पुष । मैथिली साहित्यकार सभा जनकपुरधामको आयोजनामा दिवंगत मैथिली कवि रुद्रनारायण झा ‘मडइ’को ५८औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ ।
जनकपुरधामस्थित संकट मोचन माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा कवि मडइको व्यक्तित्व र कृतित्व स्मरण गरियो ।
महोत्तरी जिल्लाको मडइ गाउँमा जन्मेका कवि मडइको जन्म १३ जनवरी १९४५ मा भएको थियो भने उनको ७ नोभेम्बर २०२५ (२०८२ कातिक २१ गते) मा निधन भएको हो ।
अवकाशप्राप्त बैंक कर्मचारीसमेत रहेका मडइ पछिल्लो समय जनकपुरधाममा बसोबास गर्दै आएका थिए । उनले नेपाली र हिन्दीमा समेत फुटकर रचना गरे पनि मुख्यतः मैथिली साहित्यमा गहिरो योगदान पुर्याएको साहित्यकारहरूले बताएका छन् ।

मैथिली भाषामा प्रकाशित उनका ‘दुर्दशा’ (यात्रा काव्य) र ‘काँवरिया’ (उपन्यास) कृतिले पाठक तथा समालोचकबीच विशेष चर्चा पाएका छन् ।
ठेट मैथिली शब्द प्रयोग र सशक्त बिम्बमार्फत गद्य कविता लेख्ने कविका रूपमा मडइ परिचित थिए । दुई वर्षअघि मैथिली साहित्यकार सभाले उनलाई साहित्यिक योगदानको कदर गर्दै भुवनेश्वरी उदितनारायण मैथिली साहित्य पुरस्कार प्रदान गरेको थियो ।
श्रद्धाञ्जलिसभाको उद्घाटन दीप प्रज्वलनमार्फत संस्थाका सल्लाहकार डा. रामसागर पण्डित र वरिष्ठ साहित्यकार चन्द्रशेखर राय ‘चमन’ले गरेका थिए ।
कवि मडइको तस्वीरमा संस्थाका सभापति अरविन्द कुमार यादव र संस्थापक सभापति प्रेम विदेहले माल्यार्पण गरे । एक मिनेट मौनधारणपछि साहित्यकार प्रेम विदेहले दिवंगत कविको व्यक्तित्व र साहित्यिक योगदानमाथि प्रकाश पारे ।
कार्यक्रममा कवि चन्द्रशेखर चमन, मनोज प्रेमेश र विनोदानन्दले कवितावाचनमार्फत श्रद्धाञ्जलि अर्पण गरे । साहित्यकार तथा पत्रकार उपेन्द्र भगत नागवंशी, राजनीतिकर्मी शबनम खातुन र नेपाल बैंक जनकपुर शाखाका प्रबन्धक एवं कवि सचिन चन्द्र कर्णले श्रद्धाञ्जलि मन्तव्य व्यक्त गरे ।
सभामा संस्थाका सहकार्यपाल विन्देश्वर ठाकुर, सहकोषपाल राजेश महतो, कार्यसमिति सदस्य उगना शंकर, कवि मडइका सुपुत्र रमापति झा, पत्रकार तथा शिक्षक उत्तीमलाल कापडि, साहित्यानुरागी श्याम साह, सुधा कर्ण, ज्ञानेन्द्र झा, प्रअ शम्भु साहलगायतको उपस्थिति रहेको थियो ।
संस्थाका सभापति अरविन्द कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यपाल अरुण आर्यले गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


