रौतहटका अग्रज पत्रकार मोहनप्रसाद शर्माको निधन

रौतहट, १९ पुष । रौतहटका वरिष्ठ तथा अग्रज पत्रकार मोहनप्रसाद शर्माको ८५ वर्षको उमेरमा निधन भएको छ । गौर नगरपालिका–५ निवासी शर्माको शुक्रबार राति निधन भएको हो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठका अनुसार पत्रकारिता क्षेत्रमा शर्माले पुर्याएको योगदान अतुलनीय छ ।
रौतहटमा पत्रकारिताको जग बसाल्न उनको महत्वपूर्ण भूमिका रहेको नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
समाजमा चेतना अभिवृद्धि, सुशासन र पारदर्शिताका लागि शर्मा जीवनभर क्रियाशील रहेको झाको भनाइ छ ।
वरिष्ठ पत्रकार शर्माले नेपाल गुप्तचर विभागअन्तर्गत जिल्ला जनसम्पर्क अधिकृतको रूपमा समेत काम गरेका थिए । उनी २०४२ सालमा रौतहटबाट राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवारसमेत बनेका थिए ।
त्यसअघि रेडियो नेपालमा समाचार वाचकका रूपमा कार्यरत रहेका शर्माको पत्रकारिता यात्राले राष्ट्रिय स्तरसम्म पहिचान बनाएको थियो ।
शर्मा प्रकाशक तथा सम्पादक रहेको समय धारा साप्ताहिक पत्रिका २०५२ साल मङ्सिर १४ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता भएको थियो । उक्त पत्रिकामार्फत स्थानीय सरोकार, प्रशासनिक जवाफदेहिता र सामाजिक मुद्दाहरू उजागर गर्न उनी सक्रिय रहे ।
युवा उमेरमा नेकपा (पुष्पलाल समूह) का नेता रहेका शर्माले रौतहटका धेरै युवालाई वामपन्थी आन्दोलनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । पछिल्लो समय उनी विश्लेषणात्मक र प्रतीकात्मक लेखनशैलीका कारण ‘माहुरी र माकुरा’ लेख्ने नेताका रूपमा परिचित थिए ।
शर्माको निधनले रौतहटको पत्रकारिता, सामाजिक चेतना र राजनीतिक चिन्तन क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


