जनकपुरधाम, १९ पुष । जनकपुरधामको साहित्य, संस्कृति र सिर्जनशीलताको धरातललाई मजबुत बनाउने उद्देश्यका साथ सातौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत अन्तरविद्यालय प्रतियोगिताको उद्घाटन समारोह आइतबार आयोजना हुने भएको छ ।

नव मिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको यस कार्यक्रमले बाल तथा युवा प्रतिभाको प्रवर्द्धनमा विशेष जोड दिएको आयोजकले जनाएको छ ।

‘धरातल, संस्कृति र संस्कारको उत्सव’ भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सवको अन्तरविद्यालय प्रतियोगिता मिथिला नाट्यकला परिषद (मिनाप) जनकपुरधाममा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । उद्घाटन समारोहमा साहित्य, कला, संस्कृति र शिक्षाक्षेत्रका व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहने बताइएको छ ।

उक्त प्रतियोगिताअन्तर्गत विद्यालयस्तरका विद्यार्थीहरूबीच वक्तृत्वकला, कविता वाचन, कथा वाचन तथा चित्रकला प्रतियोगिता सञ्चालन गरिनेछ । यी विधामार्फत विद्यार्थीहरूको सृजनशीलता, अभिव्यक्ति क्षमता र आत्मविश्वास उजागर गर्ने लक्ष्य राखिएको नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए ।

आयोजकका अनुसार बालबालिका र युवामा साहित्यिक चेतना विकास गर्नुका साथै मिथिलाको सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइँदै आएको छ । सातौँ संस्करणसम्म आइपुग्दा जनकपुर साहित्य महोत्सवले स्थानीयस्तरमै प्रतिभा पहिचान र प्रोत्साहन गर्ने साझा मञ्चको रूप लिएको आयोजकको दाबी छ ।

उद्घाटन समारोहमा सहभागी अतिथिहरूले महोत्सवको महत्व, साहित्य र संस्कृतिको भूमिका तथा भावी पुस्तामा यसको प्रभावबारे धारणा राख्ने कार्यक्रम रहेको छ । साथै, विद्यार्थीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास आयोजकको छ ।

जनकपुर साहित्य महोत्सव आयोजन समितिले उद्घाटन समारोहमा उपस्थित भई विद्यार्थीहरूको हौसला बढाउन सबै सरोकारवालालाई आग्रह गरेको छ । आयोजकका अनुसार यस्तो कार्यक्रमले जनकपुरधामलाई साहित्यिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।

नव मिथिला फाउण्डेशनले माघ २२ गतेदेखि सातौँ जनकपुर साहित्य महोत्सव २०८२ आयोजना गर्न लागेको छ ।