जनकपुरधाम, १९ पुष । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएको छ ।
उपलब्ध तथ्यांकअनुसार नेपालभर सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्ने गरेको देखिएको छ ।

यति गम्भीर अवस्था हुँदाहुँदै पनि दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयासहरू अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको सरोकारवालाहरूको गुनासो छ । गुणस्तरीय सडकको अभाव, निर्माणका क्रममा हुने लापरबाही तथा भ्रष्टाचार, सवारी चालकको तीव्र गति, ट्राफिक नियमको बेवास्ता र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम झनै बढाएको जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षको मंसिरसम्म देशभर १३ हजार ८८० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ हजार ४२ जनाले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् । तीमध्ये मधेश प्रदेशमा मात्रै २२० जनाले ज्यान गुमाएको तथ्यांकले प्रदेशमा दुर्घटनाको अवस्था कति गम्भीर छ भन्ने स्पष्ट देखाउँछ ।

त्यसैगरी, आर्थिक वर्ष ०८१/०८२ मा साउनदेखि मंसिरसम्म मधेश प्रदेशमा २ हजार ६७१ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १९१ जनाको मृत्यु भएको थियो भने ४ हजार ५७६ जना घाइते भएका थिए । सोही अवधिमा देशभर ३ हजार ४८४ दुर्घटनामा २२० जनाको मृत्यु र ५ हजार ६८५ जना घाइते भएको तथ्यांक छ ।

प्रहरीको विवरणअनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३० वर्ष उमेर समूहका युवाहरूको संख्या उल्लेख्य रहेको छ । विशेषगरी मधेश प्रदेशका आठवटै जिल्लामा भएका दुर्घटनामा युवा वर्ग बढी प्रभावित देखिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रममा सडक दुर्घटनाबाट युवाहरू बढी प्रभावित भइरहेको जनाएको छ । कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाहरूले युवालाई लक्षित गरी प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्न सके सवारी दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने धारणा व्यक्त गरेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख गोविन्द थपलियाले तीव्र गति, सडकको दुरावस्था र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको गुनासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । उनले महोत्तरी जिल्लामा मात्रै पछिल्लो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सवारी दुर्घटनाको संख्या वृद्धि भएको जानकारी दिएका छन् ।

मधेश प्रदेशको समग्र तथ्यांकअनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू बढी घाइते हुने तथा ज्यान गुमाउने गरेको देखिन्छ । यसले दुर्घटना न्यूनीकरणका कार्यक्रमहरू विशेषगरी युवा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणका लागि नियमित सवारी चेकजाँचलाई प्रभावकारी बनाउने, मापसे परीक्षणलाई कडाइका साथ लागू गर्ने, विद्यालय तथा क्याम्पसमा सडक सुरक्षासम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने, सार्वजनिक स्थानमा स्टिकर, पर्चा–पम्पलेट टाँस्ने तथा सवारी चालकलाई लक्षित सचेतनामूलक कार्यक्रमहरू बढाउनुपर्ने सुझाव दिँदै आएका छन् ।