काठमाडौं, १८ पुष । ६ वटा कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् ।

शुक्रबार बसेको ६ कम्युनिस्ट पार्टीको संयुक्त बैठकले यथास्थितिमा हुने निर्वाचन जनविरोधी भएको ठहर गर्दै बहिष्कारको निर्णय गरेको हो ।

निर्वाचन बहिष्कारको आह्वान गर्ने दलहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी गरिने चुनावले जनताको हित नसमेट्ने दाबी गरिएको छ । त्यसैले, यथास्थितिमा हुने प्रतिनिधिसभा निर्वाचनलाई अस्वीकार गर्दै आम जनतालाई बहिष्कारमा सहभागी हुन अपिल गरिएको छ ।

संयुक्त बैठकले आन्दोलनलाई सशक्त बनाउने उद्देश्यसहित ६ कम्युनिस्ट पार्टीको संयुक्त केन्द्रीय सङ्घर्ष समिति गठन गर्ने निर्णय पनि गरेको छ । दलहरूले आगामी दिनमा साझा कार्यक्रम र संघर्षका माध्यमबाट आफ्ना माग अघि बढाउने बताएका छन् ।