जनकपुरधाम, १८ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा निर्वाचन क्षेत्र नम्बर–२ को क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उमाशंकर अरगरियाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवार सिफारिसबारे निर्णय गर्दै क्षेत्रीय कमिटीले अरगरियालाई एकल उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

क्षेत्रीय कमिटीको बैठकबाट सर्वसम्मत निर्णय भएपछि सोहीअनुसार जिल्ला कमिटी धनुषालाई सिफारिस पत्र पठाइएको जनाइएको छ ।

क्षेत्रीय कमिटीले पठाएको पत्रमा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार चयनका लागि आवश्यक छलफल र निर्णय भइसकेको उल्लेख गरिएको छ । साथै, उक्त निर्णयको जानकारी नेकपा एमाले केन्द्रीय कमिटी र मधेश प्रदेश कमिटीलाई समेत गराइएको छ ।

एमालेले धनुषा–२ लाई महत्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिँदै आएको छ । उम्मेदवार सिफारिससँगै पार्टीले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाएको छ ।