काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र चर्चा भइरहेको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन शुक्रबार सानेपास्थित पार्टी कार्यालय पुगेका निधिले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै विशेष महाधिवेशन नहुने स्पष्ट पारे ।

उनले भने, ‘विशेष महाधिवेशन हुँदैन । त्यसको औचित्य उहिल्यै समाप्त भइसकेको छ । मंसिर १५ गते नै सकिइसक्यो ।’ निधिको भनाइले पार्टीभित्र विशेष महाधिवेशनको विषयमा देखिएको मतभेदलाई अझ स्पष्ट बनाएको छ ।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै १५औँ महाधिवेशन स्थगन भएको र सर्वसम्मतिमै विशेष महाधिवेशनतर्फ केन्द्रीय कार्यालय अघि बढेको दाबी गरेका थिए । तर, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार अघि बढ्न नसकेको विषयमा औपचारिक सूचना जारी नगरेकै अवस्थामा महामन्त्रीद्वयको विज्ञप्ति सार्वजनिक भएको थियो ।

यस विषयमा प्रतिक्रिया माग्दा निधिले भने, ‘हामी निर्वाचनमा जाने तयारी गर्दैछौं, अरू कुरा थाहा छैन ।’ उनले पार्टीको प्राथमिकता अब आगामी निर्वाचनमा केन्द्रित रहेको संकेत गरे ।

पत्रकारहरूले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुक भइसकेको भन्ने कुरा उठाउँदा पनि निधिले दोर्होयाउँदै भने, ‘महाधिवेशन हुँदैन ।’

निधिको अभिव्यक्तिले नेपाली कांग्रेसभित्र महाधिवेशन र नेतृत्वसम्बन्धी अन्योल कायमै रहेको देखाएको छ ।