कम खर्चमा छिटो उपचार प्रदेशमै उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम, १८ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठवटै जिल्लामा रहेका अस्पतालबाटै नागरिकले कम खर्चमा, छिटो र प्रभावकारी उपचार पाउने व्यवस्था मिलाउन मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री यादवले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए ।
उनले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रभावकारी व्यवस्थापन तथा प्रशासनिक समन्वय मजबुत बनाउन निर्देशन दिए । ‘जनताले आफ्नै जिल्ला र प्रदेशमै गुणस्तरीय उपचार पाउने अवस्था सिर्जना गर्नुपर्छ,’ मुख्यमन्त्री यादवले भने ।
बैठकमा जनताबाट आएका गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे विस्तृत छलफल भएको थियो । मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक काम गर्दै परिणाम देखिने गरी सेवा दिन आग्रह गरे ।
प्रदेश सरकारले स्वास्थ्य सेवामा कुनै किसिमको सम्झौता नगर्ने स्पष्ट पार्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले प्रदेशभित्रका स्वास्थ्य संस्थालाई सक्षम, व्यवस्थित र भरपर्दो बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए । उनले सेवा सुधार, दक्ष जनशक्ति व्यवस्थापन तथा आधुनिक उपकरणको उपलब्धतालाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।
मन्त्री रायले स्वास्थ्य सेवामा लापरबाही सह्य नहुने स्पष्ट पार्दै सेवाग्राहीमैत्री भएर काम गर्न मेसु तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।
बैठकमा मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवसहितका अधिकारीहरूले प्रदेशका अस्पतालहरूको वर्तमान अवस्था, चुनौती र सुधार योजनाबारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


