मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन हुँदै

जनकपुरधाम, १८ पुष । नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयअनुसार धनुषाको मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन हुने भएको छ ।
यससँगै मिथिला नगरपालिका मधेश प्रदेशमै स्थानीय तहको कार्यालयमार्फत आन्तरिक राजस्व सेवा सुरु गर्ने पहिलो पालिका बनेको दाबी गरिएको छ ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोका अनुसार नगरपालिकासँग आन्तरिक राजस्व विभागबीच करदाता सेवा कार्यालय सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । सो कार्यालय आउँदो सातादेखि औपचारिक रूपमा सेवा दिन सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
कार्यालय सञ्चालनमा आएपछि मिथिला नगरपालिका भित्रका व्यवसायी, उद्योगी तथा अन्य सरोकारवालाले कर दर्ता, कर विवरण अद्यावधिक, कर बुझाउने तथा आवश्यक परामर्श सेवा स्थानीय तहमै सहज र छिटो पाउनेछन् ।
यसअघि करसम्बन्धी सेवा लिन नागरिकहरू जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो । स्थानीय तहमै सेवा उपलब्ध भएपछि समय र खर्च दुवै बचत हुने नगरप्रमुख महतोले बताए ।
नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यअनुसार नगरपालिकाले अन्य सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।
उनका अनुसार मालपोत तथा नापी कार्यालय विगत डेढ वर्षदेखि मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवरमा सञ्चालनमा छन् भने इलाका प्रशासन कार्यालय स्थापना गर्नसमेत पहल भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


