संघीय कानुनको अभावले प्रदेशमा किसानका समस्या समाधानमा चुनौती : मन्त्री पटेल

पर्सा, १८ पुष । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले संघीय कानुनको कमीका कारण प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न कठिनाइ भोगिरहेको बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले संघीय कानुनका अड्चनले प्रदेशमा किसानका समस्या समाधानमा असर पुगेको बताएका हुन् ।
मन्त्री पटेलका अनुसार कर्मचारीहरूले दिएको ब्रिफिङमा भूमि सम्बन्धी ऐनसहित आवश्यक थुप्रै कानुन संघीय सरकारले ल्याउन नसक्दा प्रदेशस्तरमा काम गर्न समस्या देखिएको उल्लेख गरिएको छ । ‘भूमि सम्बन्धी ऐन नै छैन, यस्ता अरू धेरै कानुनको अभाव छ । यसले गर्दा प्रदेश सरकारलाई काम गर्न गाह्रो भएको छ,’ उनले भने ।
यद्यपि कानुनी अड्चनका बाबजुद पनि किसानका समस्या समाधानका लागि आफू प्रतिबद्ध भएर लाग्ने मन्त्री पटेलले स्पष्ट पारे । ‘संघीयता आए पनि कानुनी चुनौती छन् । तर, त्यसले काम रोकिँदैन,’ उनले जोड दिए ।
वर्तमान अवस्थामा किसानहरू अनेक समस्या भोगिरहेको उल्लेख गर्दै मन्त्री पटेलले किसानका समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताए । आफू पनि किसानको छोरा भएको उल्लेख गर्दै उनले किसानका पीडा र कठिनाइ नजिकबाट बुझेको दाबी गरे ।
‘कार्यभार सम्हालेपछि कर्मचारीहरूको ब्रिफिङ सुन्दा प्रदेशका किसानको अवस्था निकै जर्जर रहेको थाहा पाएँ,’ उनले भने, ‘ती सबै समस्या समाधान गर्ने गरी अध्ययन अघि बढाएको छु ।’
कार्यक्रममा मन्त्री पटेलले किसान तथा व्यवसायीहरूलाई आफूलाई मन्त्रीभन्दा पनि भाइको रूपमा सम्झेर सुझाव दिन आग्रह गरे । ‘म मन्त्री होइन, तपाईंहरूको भाइ हुँ,’ उनले भने, ‘प्रदेशको हितमा हुने जुनसुकै सल्लाह खुलेर दिनुहोस्, कार्यान्वयन गर्नेछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


