जनकपुर–जयनगर रेलसेवा घाटामा

जनकपुरधाम, १७ पुष । चार वर्षदेखि सञ्चालनमा रहेको जनकपुर–जयनगर रेलसेवा अहिले थप चुनौतीपूर्ण बनेको छ ।
नेपाल रेल्वे कम्पनीमा गत भदौदेखि महाप्रबन्धकको पद खाली छ भने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत हाल कुनै स्थायी नियुक्तिमा छैन ।
महाप्रबन्धक निरञ्जन झाको कार्यकाल भदौमा सकिएपछि पद रिक्त भएको थियो । लामो समयदेखि रेल्वे निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको थियो । तर, निमित्त जिम्मेवारी पाएका तुला बहादुर डागीले जागिरबाट राजीनामा दिए पनि स्वीकृत नभएपछि कार्यालय छोडेका छन् ।
रेल्वे कम्पनीमा हाल स्थायी कर्मचारीको संख्या चौथो तहमा मात्र एकजना रहेको छ भने सबै अन्य कर्मचारी दैनिक ज्यालादारीमा आधारित छन् । कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । ‘हामी दुई महिनादेखि तलब पाएका छैनौं, अहिले तेस्रो महिना पनि चलिरहेको छ । अहिले डिजी सरकै निर्देशन अनुसार मात्र काम भइरहेको छ,’ एक दैनिक ज्यालादारी कर्मचारीले भने ।
नेपाल रेल्वे कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार आ.व. २०७६÷७७ देखि २०८०÷८१ सम्म कम्पनीले १९ करोड २१ लाख आम्दानी गर्दा ६७ करोड ३७ लाख खर्च गरेको छ । यस अवधिमा कुल ४८ करोड १४ लाख घाटा भएको छ । आव २०७८÷७९ मा मात्र रेलले ८ करोड ४६ लाख घाटा ब्यहोरेको थियो ।
कम्पनीको आम्दानी मुख्यतः टिकट विक्री, वीरगञ्जको जग्गा तथा गोदाम भाडा र तरकारी बजार भाडाबाट हुने गरेको छ । तर, सञ्चालन खर्च आम्दानीभन्दा तीन गुणा बढी हुँदा कम्पनी घाटामा रहँदै आएको छ ।
अर्कोतर्फ, भारतीय जनशक्तिको भर पर्नाले मासिक ८५ लाख रूपैयाँ बढी खर्च भइरहेको छ । नेपालमा आवश्यक योग्य जनशक्ति नभएकाले कम्पनीले भारतीय कर्मचारीलाई तलब र भत्ता दिएर रेल सञ्चालन गर्दै आएको छ ।
सुरुमा ३८ किलोमिटर दूरीको जनकपुर–जयनगर रेलसेवा २०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । हालसम्म रेल सेवा कुल ५२ किलोमिटर क्षेत्रमा १२ वटा स्टेशन हुँदै सञ्चालनमा छ ।
दैनिक तीन पटक चल्ने रेल सेवाले महोत्तरीको भंगहा स्टेशनबाट भारतको जयनगरसम्म पुग्छ । कम्पनीका अनुसार टिकट भाडा ७०–६५० रूपैयाँसम्म रहेको छ ।
नेपाल रेल्वे कम्पनीको व्यवसायिक कार्ययोजना, २०८२ अनुसार खर्च कटौती, जनशक्ति विकास, विद्यमान सेवाको सुधार, भाडादर परिमार्जन, सेवा विस्तार र सेवाको विविधिकरण कार्यक्रमहरू लागू गर्दा पहिलो वर्षमै ३३ करोड ७२ लाख आम्दानी भई रेल फाइदामा जान सक्ने देखिएको छ ।
विशेष गरी भाडा समायोजन गर्दा वार्षिक ३ करोड ९० लाख, दैनिक चारपटक सेवा सञ्चालन गर्दा २ करोड बढी आम्दानी सम्भव छ । कार्गो ट्रेन सञ्चालन र व्यवसायिक जग्गा भाडा तथा रेल म्युजियम सञ्चालनले वार्षिक २५–८ करोड आम्दानी थप गर्न सक्ने कम्पनीले जनाएको छ ।
चार वर्षदेखि सञ्चालन भइरहे पनि अहिलेसम्म स्थायी कर्मचारीका लागि विज्ञापन आह्वान भएको छैन । २०७७ भदौ २९ मा २९ पदका लागि विज्ञापन गरिएको थियो । तर, पछि रद्द भयो । हालसम्म नयाँ विज्ञापन जारी नभएकोले रेल्वे दैनिक ज्यालादारीमा निर्भर रहँदै आएको छ ।
कम्पनीले भित्रभित्रै कर्मचारी नियुक्त गर्दा पहिलेका कर्मचारीहरू असन्तुष्ट देखिएका छन् । यस कारण सञ्चालन व्यवस्थापनमा झन् जटिलता बढेको छ ।
रेल्वे सञ्चालनलाई दीर्घकालीन र फाइदाजनक बनाउन तत्काल स्थायी कर्मचारी नियुक्ति, तालिम कार्यक्रम सञ्चालन र व्यवस्थापन सुधार आवश्यक रहेको देखिन्छ ।

