जनकपुरधाम, १७ पुष । अंग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन आज धार्मिक नगरी जनकपुरधाममा भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ ।

नयाँ वर्षको शुभारम्भ भगवान् राम र माता सीताको दर्शनबाट गर्न चाहने श्रद्धालुहरू बिहानैदेखि विभिन्न मन्दिरहरूमा लाइनमा देखिएका छन् ।

जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणि मण्डपलगायत प्रमुख धार्मिक स्थलहरूमा भक्तजनहरूको चाप अत्यधिक रहेको छ । मन्दिर परिसर ‘जय सियाराम’ र ‘जय जानकी’ नाराले गुञ्जायमान बनेको छ । श्रद्धालुहरूले पूजा–अर्चना गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्षको अवसरमा छिमेकी देश भारतबाट पनि ठूलो संख्यामा भक्तजन जनकपुरधाम आएका छन् । भारतको बिहार राज्यअन्तर्गत मधुवनी, सितामढी, जयनगर, दरभंगा, मुजफ्फरपुर, समस्तीपुरलगायतका सहरहरूबाट श्रद्धालुहरू जनकपुरधाम पुगेका हुन् । सीमा नजिकै रहेको धार्मिक केन्द्र भएकाले जनकपुरधाम भारतीय श्रद्धालुहरूको प्रमुख गन्तव्यका रूपमा रहेको छ ।

भक्तजनको चाप बढेसँगै जनकपुरधामका होटल, लज र भोजनालयहरूमा पनि उल्लेख्य भिड देखिएको छ । नयाँ वर्ष मनाउन आएका आन्तरिक तथा बाह्य पर्यटकका कारण होटल व्यवसाय चलायमान बनेको व्यवसायीहरू बताउँछन् । साथै मदिरा पसलहरूमा समेत ग्राहकको चहलपहल बढेको छ ।

भिडका कारण जनकपुरधामको मुख्य सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । ट्राफिक व्यवस्थापनमा चुनौती देखिएपछि १२ बिघा क्षेत्रमा विशेष रूपमा भारतीय नम्बर प्लेटका सवारी साधनहरू पार्किङको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी दिनभर सवारी व्यवस्थापनमा खटिएका छन् ।

सुरक्षाको दृष्टिले पनि जनकपुरधाममा विशेष सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार नयाँ वर्षको अवसरमा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले मन्दिर परिसर र भीडभाड हुने स्थानहरूमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ ।