जनकपुरधाम, १७ पुष । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर क्लोथ बैंक नेपालले मानवतामूलक कार्यको थालनी गरेको छ ।

संस्थाका अध्यक्ष डा. राजीव झाको नेतृत्वमा बिहीबार बिहान जनकपुरधामस्थित कबिर बाल आश्रममा रहेका बालबालिकाका लागि न्यानो कपडा तथा सिरक सहयोग प्रदान गरिएको हो ।

क्लोथ बैंक नेपालले आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकलाई १५ थान ज्याकेट र ७ थान सिरक हस्तान्तरण गरेको छ । जाडो मौसमलाई मध्यनजर गर्दै गरिएको उक्त सहयोगले आश्रममा आश्रित बालबालिकालाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको छ ।

नयाँ वर्षको पहिलो दिन बिहानै अध्यक्ष डा. झाले फोनमार्फत शुभकामना आदान प्रदान गर्दै औपचारिक कार्यक्रमभन्दा सेवामूलक कार्यलाई प्राथमिकता दिएको बताए । ‘नयाँ वर्षको शुरुवात नै सेवाबाट हुनु सकारात्मक सन्देश हो,’ उनले भने, ‘समाजका विपन्न तथा असहाय वर्गका लागि सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ ।’

सहयोग हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका डीआईजी गोविन्द थपलिया, समाजसेवी अमरचन्द्र अनिल, क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरण गुप्ता, कोषाध्यक्ष रुबी झा, बिनोद ठाकुर, कृष्ण कुमार साह, राम टहल यादव, सुदिप महतो तथा पत्रकार बद्रीनाथ झालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले क्लोथ बैंक नेपालले विगतदेखि गर्दै आएको निरन्तर मानवीय सेवाको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सोच र सहकार्यको भावना विकास गरिरहेको बताए । नयाँ वर्षको शुरुवात नै परोपकारी कार्यबाट गर्नु अन्य संघसंस्थाका लागि पनि प्रेरणादायी उदाहरण भएको उनीहरूको धारणा थियो ।

क्लोथ बैंक नेपालले आगामी दिनमा पनि बालबालिका, वृद्ध, असहाय तथा विपन्न वर्गलाई लक्षित गर्दै न्यानो कपडा, खाद्यान्न र आवश्यक सामग्री वितरणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।