सिरहा, १७ पुष । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका सिरहाका सत्यनारायण साफीलाई व्यवसायी तथा समाजसेवी विकास शारडाले प्रत्येक महिना १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

छात्रवृत्तिमा पढाइ निःशुल्क भए पनि खान, बस्न र अन्य शैक्षिक खर्चको अभावले पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त सहयोगको घोषणा गरिएको हो ।

जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्षसमेत रहेका शारडाले आफ्नो ४७औँ जन्मदिनको अवसर पारेर साफीलाई नियमित सहयोग गर्ने निर्णय गरेका हुन् । सोहीअनुसार सिरहा बरियारपट्टी गाउँपालिका–२ सिरिपुर निवासी सत्यनारायण साफीसँग लिखित सम्झौता गरिएको छ ।

सम्झौताअनुसार शारडाले प्रत्येक महिना आफ्नो बैंक खाताबाट सत्यनारायणको खातामा १० हजार रुपैयाँ जम्मा गर्नेछन् । यो सहयोग सत्यनारायणको एमबीबीएस अध्ययन निरन्तर रहेसम्म उपलब्ध गराइने उल्लेख गरिएको छ । यदि अध्ययन बीचमै छाडेमा वा पूरा नगरेमा सहयोग स्वतः बन्द हुने स्पष्ट व्यवस्था सम्झौतामा राखिएको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै व्यवसायी शारडाले सामाजिक उत्तरदायित्वका रूपमा आफूले उक्त सहयोग गर्ने निर्णय लिएको बताए । ‘यो मेरो व्यक्तिगत मात्र नभई सामाजिक दायित्व पनि हो,’ उनले भने, ‘आर्थिक अभावका कारण सत्यनारायण भाइको पढाइमा कुनै अवरोध नआओस् भन्ने चाहना छ । तर, यदि कुनै कारणले पढाइ अधुरो रह्यो भने सहयोग पनि त्यसै दिनबाट अन्त्य हुन्छ ।’

शारडाले विगतको अनुभव स्मरण गर्दै आर्थिक कमजोरीका कारण आफ्नी बहिनीलाई एमबीबीएस पढाउन नसकेको पीडा अझै मनमा रहेको बताए । ‘त्यही अनुभूतिले आज सत्यनारायणलाई सहयोग गर्न प्रेरित गरेको हो,’ उनले भने, ‘योग्य र मेहनती विद्यार्थीले पैसाको अभावले सपना अधुरो राख्न नपरोस् भन्ने मेरो चाहना हो ।’

सत्यनारायण साफी आर्थिक रूपमा विपन्न परिवारबाट आएका विद्यार्थी हुन् । कठिन परिस्थितिका बाबजुद उनले कडा मेहनत गर्दै एमबीबीएस छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । व्यवसायी शारडाको सहयोगले आफ्नो अध्ययनलाई थप सहज बनाउने विश्वास साफीले व्यक्त गरेका छन् ।