जनकपुरधाम, १७ पुष । जनकपुरधाम उपमहानगरपालिका–४ निवासी रोशनी झाको शङ्कास्पद मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीन जनालाई धनुषा जिल्ला अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको छ भने मृतकका श्रीमान् प्रशान्त मिश्रलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

धनुषा जिल्ला अदालतको इजलास नम्बर–१ का न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले अनुसन्धानका क्रममा पक्राउ परेका प्रशान्त मिश्रलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो ।

अदालतले प्रशान्त मिश्रका नातेदार डा. धिरज झालाई भने एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको जिल्ला अदालतले जनाएको छ ।

यसैगरी, किटानी जाहेरीका आधारमा मङ्सिर २३ गते पक्राउ परेका प्रशान्त मिश्रका भिनाजु सच्चिन झा र भान्जा प्रतीक झालाई साधारण तारेखमा छाड्ने आदेश भएको छ । प्रतीक झा नाबालक भएकाले उनको हकमा बाल इजलासमार्फत सुनुवाइ गरिएको अदालत स्रोतले जनाएको छ ।

गत मङ्सिर १२ गते बिहीबार रोशनी झाको घरभित्रै शङ्कास्पद अवस्थामा मृत्यु भएपछि घटनालाई हत्या भएको दाबी गर्दै माइती पक्ष आन्दोलित बनेको थियो ।

माइती पक्षले रोशनीलाई न्याय दिन माग गर्दै जिल्ला प्रहरी कार्यालय, जनक चोक तथा धनुषा जिल्ला अदालत अगाडि धर्ना र प्रदर्शनसमेत गरेका थिए । आन्दोलन चर्किएपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै पीडित पक्षको जाहेरीका आधारमा चार जनालाई पक्राउ गरेको थियो ।

रोशनीका माइती पक्षले दाइजोका कारण दम्पतीबीच पटक पटक विवाद हुने गरेको दाबी गर्दै आएका छन् । उनीहरूले रोशनीमाथि घरेलु हिंसा हुँदै आएको र अन्ततः त्यसकै कारण मृत्यु भएको आशंका व्यक्त गरेका छन् । यद्यपि, घटनाबारे विस्तृत अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ ।

थुनामा परेका प्रशान्त मिश्र मधेश प्रदेश सरकारअन्तर्गत नीति तथा योजना आयोगमा शाखा अधिकृत पदमा कार्यरत रहेका छन् । सरकारी कर्मचारीसमेत संलग्न भएको घटनाले मधेश प्रदेशमा चासो र चर्चा बढाएको छ ।

अदालतको पछिल्लो आदेशसँगै रोशनी झा मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । माइती पक्षले दोषीमाथि कडा कारबाहीको माग दोहोर्याउँदै निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गर्न राज्यका निकायसँग आग्रह गरेका छन् ।