जनकपुरधाम, १७ पुष । पर्यटन मन्त्री अनिल सिन्हासँग जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने विषयमा गहन छलफल भएको छ ।

छलफलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालगायत मधेशका युवाहरूको सहभागिता रहेको थियो । युवा अभियन्ता पुरुषोत्तम यादवलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरू पनि छलफलमा उपस्थित थिए ।

छलफलका क्रममा मन्त्री सिन्हाले जानकी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अन्तर्राष्ट्रिय महत्व बोकेको सम्पदा भएको उल्लेख गर्दै यसको विश्व सम्पदा सूचीमा सूचीकृत गरिनु आवश्यक रहेको बताए ।

‘जानकी मन्दिर मधेशको गौरव मात्र नभई सम्पूर्ण नेपालको पहिचान हो,’ उनले भने, ‘यसलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने दिशामा सरकार गम्भीरतापूर्वक अगाडि बढ्नेछ ।’

मन्त्री सिन्हाका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत भएमा जानकी मन्दिरको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोग र मान्यता प्राप्त हुने छ । यसले जनकपुरधामलाई विश्व पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्नेछ ।

‘यसले धार्मिक पर्यटनको विस्तारसँगै स्थानीय अर्थतन्त्र, रोजगारी र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउनेछ,’ उनले भने ।

छलफलमा सहभागी युवाहरूले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक कागजात तयारी, ऐतिहासिक प्रमाण संकलन, संरचनागत संरक्षण तथा स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले केन्द्र र प्रदेश सरकारबीच समन्वय, विज्ञ टोली गठन र दीर्घकालीन कार्ययोजना आवश्यक रहेको धारणा राखे ।

युवा अभियन्ता पुरुषोत्तम यादवले जानकी मन्दिरको ऐतिहासिकता, मिथिला सभ्यताको महत्व र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान स्थापित गर्न युवाहरूले अभियानको नेतृत्व लिन तयार रहेको बताए । ‘युवाहरूको ऊर्जा र सरकारको इच्छाशक्ति मिलेमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्भव छ,’ उनले भने ।

मन्त्री सिन्हाले युवाहरूको सुझाव र प्रतिबद्धतालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा विज्ञ, सरोकारवाला निकाय र युवासँग सहकार्य गरेर औपचारिक प्रक्रिया अघि बढाइने जानकारी दिए ।

‘यो सरकारको मात्र नभई सम्पूर्ण मधेश र देशकै साझा अभियान हो,’ उनले भने, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्य पूरा गर्न हामी एकजुट भएर लाग्नेछौँ ।’