सिरहा, १६ पुष । केही दिनयता तराई–मधेस क्षेत्रमा बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक जना वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का ६० वर्षीय शिवदयाल सदायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

परिवारका अनुसार लामो समयदेखि मधुमेह र दम रोगबाट पीडित सदायको बुधबार बिहान आफ्नै घरमा मृत्यु भएको हो । उनकी श्रीमती फेकनी देवी सदायले चिसो बढेसँगै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र बिहान अचेत अवस्थामा भेटिएपछि मृत्यु भएको जानकारी दिइन् ।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार सदाय विपन्न परिवारका सदस्य थिए । घरमा न्यानो कपडा, सिरक र जाडो छल्ने उचित व्यवस्था नहुँदा उनी चिसो सहन नसकी ज्यान गुमाउन पुगेको वडा सदस्य तनुकलाल महतोले बताए । ‘आर्थिक अवस्था कमजोर भएकाले न्यूनतम न्यानोको व्यवस्था समेत गर्न सक्ने अवस्था थिएन,’ उनले भने ।

मृत्युपछि सदायको अन्तिम संस्कारका लागि समेत परिवारलाई समस्या परेको थियो । आर्थिक अभावका कारण शव जलाउन आवश्यक दाउरा जुटाउन नसकेपछि नेपाली सेनाले दाउरा सहयोग गरेको स्थानीय प्रशासनले जनाएको छ । सेनाको सहयोगपछि अन्तिम संस्कार सम्पन्न गरिएको बताइएको छ ।

केही दिनदेखि तराई क्षेत्रमा बाक्लो कुहिरो, शीतलहर र चिसो हावाका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । चिसो बढेसँगै विपन्न, दलित तथा सुकुम्बासी बस्तीहरूमा न्यानो कपडा, सिरक र आगो ताप्ने दाउराको अभाव देखिन थालेको छ ।

स्थानीयवासी र सामाजिक अभियन्ताहरूले शीतलहरको समयमा विपन्न वर्गलाई लक्षित राहत कार्यक्रम तत्काल सुरु गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । मौसम अझै केही दिन चिसो रहने पूर्वानुमान रहेकाले थप क्षति हुन नदिन सरकारी तथा गैरसरकारी निकायको सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ छ ।