जाडो बिदा कागजमै सीमित?

जनकपुरधाम, १६ पुष । बाक्लो हुस्सु र शीतलहरका कारण मौसममा अपेक्षित सुधार नआएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पुनः जाडो बिदा घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो बढ्दै गएको छ ।
उपमहानगरबाट जारी निर्देशन हुँदाहुँदै पनि केही विद्यालय सञ्चालनमा रहँदा स्थानीय सरकारको नियमन र अनुगमन क्षमतामाथि प्रश्न उठ्न थालेको हो ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाकी शाखा प्रमुख अन्जु पाण्डेयद्वारा पुष ११ गते जारी सूचनाअनुसार जाडो बिदाबाट कट्टा हुने गरी पुष १३ देखि १६ गतेसम्म सबै सामुदायिक तथा निजी विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको थियो ।
उक्त सूचना जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा तथा विभिन्न निजी विद्यालयका संघसंस्थालाई बोधार्थ पठाइएको उपमहानगरपालिकाले जनाएको थियो ।
तर, उपमहानगरपालिकाको निर्णयको उल्लंघन गर्दै केही विद्यालय तोकिएको बिदा अवधिभन्दा अगावै सञ्चालनमा रहेको देखिएको छ । स्थानीयका अनुसार गोगल माध्यमिक विद्यालय बसहिया अघिल्लो दिन नै खुलेको थियो । त्यस्तै, हिजो मदर टेरेसा र सिद्धार्थ स्कुल सञ्चालनमा रहेका थिए भने आज पनि मोनालिसा स्कुल खुलेको देखिएको स्थानीय अभिभावकहरूले बताएका छन् ।
यस अवस्थाले उपमहानगरपालिकाबाट जारी निर्देशन कागजमै सीमित भएको आरोपलाई बल पुगेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेको अवस्थामा विद्यालय सञ्चालन गर्दा बालबालिकाको स्वास्थ्य जोखिममा पर्ने भन्दै अभिभावकहरू चिन्तित देखिएका छन् ।

‘सूचना निकालेर मात्र दायित्व पूरा भएको ठान्ने प्रवृत्ति देखियो,’ एक अभिभावकले भने, ‘बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा स्थानीय सरकारको निर्देशन अटेर गर्ने विद्यालयमाथि के कारबाही हुन्छ भन्ने प्रश्न उठेको छ ।’
सरोकारवालाहरूले उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गराउन प्रभावकारी अनुगमन र तत्काल कारबाही आवश्यक रहेको बताउँदै आएका छन् । उनीहरूका अनुसार जाडो बिदा कुनै औपचारिकता नभई बालबालिकाको जीवन र स्वास्थ्य सुरक्षासँग सम्बन्धित संवेदनशील विषय भएकाले सबै विद्यालयले अनिवार्य रूपमा पालना गर्नुपर्ने हो ।
यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट हालसम्म कुनै कारबाही प्रक्रिया वा चेतावनी सार्वजनिक नभएकाले स्थानीय सरकारको नियमन क्षमता र जिम्मेवारीमाथि थप प्रश्न उठ्न थालेको छ ।
शिक्षा क्षेत्रसँग सम्बन्धित निर्णयको प्रभावकारी कार्यान्वयन नभएमा भविष्यमा यस्ता निर्देशनको विश्वसनीयता कमजोर हुने स्थानीयको भनाइ छ ।

शीतलहर अझै कायम रहेको मौसमविद्हरूको अनुमानका बीच उपमहानगरपालिकाले अब कस्तो कदम चाल्छ भन्नेमा अभिभावक, शिक्षक तथा सर्वसाधारणको चासो केन्द्रित भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


