राजविराजसहित ६ पालिकामा विद्यालय बन्द, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी, १५ पुष । तराई–मधेशमा बढ्दै गएको शीतलहरका कारण सप्तरी जिल्लाको जनजीवन दिनप्रतिदिन प्रभावित बन्दै गएको छ ।
अत्यधिक चिसो, बाक्लो हुस्सु र चिसो हावाका कारण बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी मजदुरहरू सबैभन्दा बढी मारमा परेका छन् ।
शीतलहरको असरलाई मध्यनजर गर्दै राजविराज नगरपालिकासहित जिल्लाका ६ स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
राजविराज नगरपालिकाले पुष १६ देखि १८ गतेसम्म तीन दिनका लागि नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी सूचनाअनुसार चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको जनाइएको छ । नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।
त्यसैगरी, जिल्लाको महादेवा गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बिदा दिएका छन् ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले जारी गरेको सूचनामा बढ्दो चिसोका कारण बालबालिकामा निमोनिया, रुघाखोकी तथा ज्वरोको जोखिम बढ्न सक्ने भन्दै पुष १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको उल्लेख छ ।
अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गत सञ्चालनमा रहेका सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालयमा तीन दिनका लागि बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
यसअघि नै डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले चिसोको प्रभावलाई ध्यानमा राख्दै पुष १८ गते शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिसकेका छन् । यस्तै, बोदेबरसाइन नगरपालिकाले पनि पुष ९ देखि १३ गतेसम्म जाडो बिदा घोषणा गर्दै सम्पूर्ण विद्यालय बन्द गराएको थियो ।
शीतलहरका कारण शिक्षा क्षेत्र मात्र नभई स्वास्थ्य क्षेत्रसमेत प्रभावित बनेको छ । चिसो बढेसँगै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।
विशेषगरी रुघाखोकी, ज्वरो, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामी बढी आउने गरेका छन् ।
जिल्लाका अन्य स्वास्थ्यचौकीहरूमा पनि चिसोसँग सम्बन्धित रोगका बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
चिकित्सकहरूले चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्न, बिहान–बेलुका अनावश्यक रूपमा बाहिर ननिस्कन तथा बालबालिका र वृद्धवृद्धाप्रति विशेष ध्यान दिन आग्रह गरेका छन् ।
उता, चिसोका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग, खुला ठाउँमा बसोबास गर्ने विपन्न परिवार तथा पशुचौपायासमेत प्रभावित भएका छन् । बिहान र बेलुका बाक्लो हुस्सु लाग्ने तथा दिउँसो पनि चिसो हावा चलिरहने अवस्थाले जनजीवन कष्टकर बनेको स्थानीयको गुनासो छ ।
मौसमविद्हरूका अनुसार अझै केही दिन शीतलहरको प्रभाव कायमै रहने सम्भावना रहेकाले स्थानीय प्रशासन, स्वास्थ्य संस्था तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

