होटेलमै उम्मेदवार सिफारिश गरिएको आरोप, नेकपा महोत्तरीमा आन्तरिक कलह

जनकपुरधाम, १५ पुष । दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको भोलिपल्टै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महोत्तरीमा आन्तरिक विवाद सतहमा आएको छ ।
उम्मेदवार सिफारिश प्रक्रियामा किर्ते हस्ताक्षर प्रयोग गरिएको आरोप लागेपछि नेकपा महोत्तरीको सिफारिश सूची विवादित बनेको हो ।
नेकपाका केन्द्रीय सदस्य वीरेन्द्र यादवले आफू कार्यदलको सदस्य हुँदाहुँदै समेत बाइपास गरी किर्ते हस्ताक्षरमार्फत उम्मेदवार सिफारिश गरिएको दाबी गरेका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पाँच सदस्यीय कार्यदलमा आफ्नो संलग्नता हुँदाहुँदै आफ्नो वास्तविक हस्ताक्षर भएको सूची नपठाई नक्कली हस्ताक्षर गरिएको अर्कै सूची केन्द्रमा पठाइएको आरोप लगाए ।
यादवका अनुसार महोत्तरीका निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश जिल्ला भित्रै बसेर गरिनुपर्ने भए पनि जनकपुरधामस्थित एक होटलमा कार्यदलका बाँकी चार सदस्यहरूले आफूलाई जानकारी नदिई सिफारिश प्रक्रिया अघि बढाएका हुन् ।
‘प्रकाशहरि पोखरेल, विजय चौधरी, राजन बस्नेत र अर्चना झाले मलाई पूर्ण रूपमा वेवास्ता गर्दै उम्मेदवार सिफारिश गरे,’ उनले भने, ‘यसले महोत्तरीका नेता कार्यकर्तामा गम्भीर असन्तोष पैदा गरेको छ ।’
उनले यस विषयमा पार्टीका शीर्ष नेताहरूसमक्ष पटक पटक जानकारी गराउँदा समेत आफ्ना मागलाई बेवास्ता गरिएको गुनासो गरे ।
उल्टै कारबाही गर्ने चेतावनी दिइएको भन्दै उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र नै प्रश्नमा परेको बताए ।
यादवले किर्ते हस्ताक्षर गरी उम्मेदवार सिफारिश प्रक्रियामा संलग्न भएको आरोप लगाउँदै प्रकाशहरि अधिकारी र विजय चौधरीमाथि पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् ।
नेकपा महोत्तरीको समानुपातिक उम्मेदवार सिफारिश विवादले पार्टीभित्रको आन्तरिक एकता र अनुशासनबारे प्रश्न उठाएको छ भने यस विषयमा पार्टी नेतृत्वको आधिकारिक धारणा आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

