रौतहट, १५ पुष । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध गरिएको छ ।

मंगलबार बिहान करिब ७ः५० बजे पूर्वतर्फबाट आउँदै गरेको यूपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनाग्रस्त भई सडकमै तेर्सो परेको हो । दुर्घटनामा बुलेटका चालक सामान्य घाइते भएका छन् ।

दुर्घटनापछि बुलेटबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा सवारी सञ्चालन तत्कालका लागि रोकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

ग्यास लिक भइरहेकाले आगलागीको जोखिम हुन सक्ने भन्दै दमकल र बुलेट हटाउन क्रेन घटनास्थलतर्फ पठाइएको छ । दुर्घटना जंगल क्षेत्रमा भएकोले नजिकै बस्ती नरहे पनि उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रूपा लाबुङका अनुसार अवस्था पूर्ण रूपमा सामान्य नहुन्जेलसम्म सो सडकखण्डमा सवारी आवागमन खुलाइने छैन । सुरक्षाकर्मी र सम्बन्धित निकायले जोखिम न्यूनीकरणका लागि आवश्यक काम तीव्र रूपमा गरिरहेको जनाइएको छ ।