जनकपुरधाम, १४ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच आइतबार सम्पन्न एकताले मधेश प्रदेश सभाको राजनीतिक शक्ति सन्तुलनमा ठुलो परिवर्तन ल्याउने भएको छ ।

यद्यपि हालसम्म प्रदेश सभा संसदीय दल औपचारिक रूपमा एकीकृत भइनसकेको भए पनि एकीकरणपछि नेकपा एमालेले मधेश प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियत गुमाउने निश्चित देखिएको छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा हाल जसपा नेपालका १९ र लोसपा नेपालका ९ सांसद छन् । यी दुई दलको एकतासँगै एकीकृत पार्टीको सांसद संख्या २८ पुग्नेछ । यससँगै हाल २५ सांसदसहित सबैभन्दा ठुलो दलको रूपमा रहेको नेकपा एमाले दोस्रो स्थानमा खस्किनेछ । एकीकृत जसपा–लोसपा दल मधेश प्रदेश सभाको सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्नेछ ।

राजनीतिक समीकरण फेरिँदा नेपाली कांग्रेसको स्थान पनि यथावत तेस्रो हुने देखिएको छ । २२ सांसद रहेको कांग्रेस एमालेपछि तेस्रो ठुलो दलका रूपमा रहनेछ । सत्ता–विपक्षको अंकगणितमा यो परिवर्तनले सरकार गठन र नीतिगत निर्णयमा नयाँ समीकरण निर्माण हुने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

यता, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले केन्द्रमा एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिसके पनि मधेश प्रदेश सभामा भने संसदीय दल अझै औपचारिक रूपमा एकीकृत भइसकेका छैनन् । संसदीय दल एकीकरण भएमा उक्त पार्टीको सांसद संख्या १६ पुग्नेछ । यसले मधेश
प्रदेश सभामा चौथो ठुलो राजनीतिक शक्तिको हैसियत बनाउनेछ ।

यस परिवर्तनको प्रत्यक्ष असर जनमत पार्टीमा पर्ने देखिन्छ । हाल १३ सांसदसहित चौथो स्थानमा रहेको जनमत पार्टी, जसपा–लोसपा एकता र नेपाली कम्युनिस्ट पार्टीको संसदीय दल एकीकरणपछि एक स्थान तल झर्दै पाँचौँ ‘पोजिसन’मा पुग्नेछ ।

मधेश प्रदेश सभामा साना दलहरूको उपस्थिति भने यथावत छ । नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका समान रूपमा एक–एक सांसद रहेका छन् । यद्यपि, ठुला दलहरूको शक्ति सन्तुलन फेरिँदा यी साना दलहरूको भूमिकासमेत निर्णायक बन्न सक्ने सम्भावना देखिएको छ ।

राजनीतिक दलहरूको एकता र संसदीय दल एकीकरणको प्रक्रियाले मधेश प्रदेशको आगामी सत्ता समीकरण, सरकारको स्थायित्व र नीति–निर्णयमा उल्लेख्य प्रभाव पार्ने अपेक्षा गरिएको छ । अब सबैको चासो प्रदेश सभामा संसदीय दल एकीकरण कहिले औपचारिक हुन्छ र त्यसपछि सत्ता राजनीति कुन दिशातर्फ मोडिन्छ भन्नेमा केन्द्रित भएको छ ।