जसपा र लोसपाबीच एकीकरणको घोषणा, मधेश राजनीतिमा नयाँ ध्रुवीकरण

जनकपुरधाम, १३ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरण गर्ने निर्णय भएको छ ।
दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले सहमति पत्रमा हस्ताक्षर गरेसँगै औपचारिक रूपमा एकीकरण प्रक्रिया अघि बढेको हो ।
काठमाडौंमा बसेको दुवै दलका अध्यक्षसहित पदाधिकारीहरूको संयुक्त बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन र विश्लेषणपछि एकतामा जाने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी एजेन्डालाई अझ सशक्त बनाउने उद्देश्यले एकीकरण गरिएको दाबी गरिएको छ ।

विज्ञप्तिमा न्यायपूर्ण समाज निर्माणको आवश्यकता आत्मसात गर्दै मधेशका मुद्दालाई एकीकृत रूपमा अघि बढाउन दुवै दल सहमत भएको उल्लेख गरिएको छ । लामो समयदेखि विभाजित मधेशी राजनीति फेरि एक ठाउँमा आउनु सकारात्मक रूपमा हेरिएको छ ।
यसअघि १० वैशाख २०७७ मा संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर जसपा बनेको थियो । तर, डेढ वर्ष नपुग्दै २०७८ भदौ दोस्रो साता पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भएको थियो ।
२०६३ सालपछि उपेन्द्र यादव र महन्थ ठाकुर मधेशी राजनीतिका प्रमुख शक्ति रूपमा उदाएका नेताहरू हुन् । उनीहरूबीचको पुनः एकताले मधेशको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


