जनकपुरधाम, १३ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहबीच भएको सम्झौताले मधेशमा खासै प्रभाव नपर्ने बताएका छन् ।

सुमनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो सम्झौता संघीयता तथा धर्म निरपेक्षताको विषयमा गौण रहेकाले मधेशका जनता यसलाई लिएर न त उत्साहित छन्, न त आश्चर्यचकित । यसले मधेशबाट अपेक्षित मत तान्न सक्दैन ।’

उनले सम्झौताबारेको निर्णय तत्कालै प्रधानमन्त्रीको भूमिका तोक्नुलाई ‘हास्यास्पद’ र ‘घमण्डपूर्ण’ कदमको रूपमा टिप्पणी गरे ।

सुमनले भने, ‘नयाँ राजनीतिक शक्तिहरू एक हुनु सकारात्मक कुरा हो । तर, संसदीय दलको नेता र प्रधानमन्त्रीको विषय अहिले तय गर्नु भनेको भविष्यमा के हुन्छ, चुनावमा के हुन्छ भन्ने नहेरी निर्णय गर्नु जस्तो हो । विगतमा पनि प्रचण्डले कार्यकारी राष्ट्रपति बनाउने घोषणा गरेका थिए । तर, त्यो कहिल्यै हुन सकेन ।’

सुमनले थपे, ‘त्यसैले, सार्वजनिक रूपमा प्रधानमन्त्री घोषणा गर्नु घमण्ड झैं देखिन्छ । यसकारण यस सम्झौताले जनता सधैंको जस्तो मत तान्ने छैन । तथापि, हाम्रो शुभकामना छ ।’

उनका अनुसार मधेशका जनताले आफ्ना गुनासोहरू जतिसुकै प्रकट गरे पनि आफ्नो माया र समर्थन पनि देखाउँछन् । तर, संघीयताको विरोधमा देखिने स्वरलाई मधेशी जनता स्वीकार्दैनन् ।

उनले भने, ‘रविजी र बालेनजी जानी वा नजानी संघीयताको विपक्षमा उभिएका छन् । त्यसैले मधेशमा यस सम्झौताले विशेष प्रभाव पार्दैन ।’

सुमनले बालेन्द्र साहलाई ‘स्वच्छ छविको व्यक्ति’ ठानेका कारण यो सम्झौताले देशका अन्य भागमा प्रभाव पार्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन बताए ।

आइतबार बिहान रास्वपाका सभापति लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहबीच सातबुँदे सम्झौता भएको थियो ।

सम्झौतापत्रअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन्द्र साहलाई आगामी प्रधानमन्त्रीको रूपमा अघि सारिनेछ । चुनाव चिह्न ‘घण्टी’ रास्वपाकै रहनेछ ।