जनकपुरधाम, १३ पुष । बाक्लो हुस्सु र शीतलहरका कारण मौसममा सुधार नआएपछि जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप चार दिन जाडो बिदा दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि बुधबारसम्म सबै विद्यालयमा जाडो बिदा दिएको छ ।

यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ ।

पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा बाक्लो कुहिरो र शीतलहर बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने जोखिम बढेको भन्दै उपमहानगरपालिकाले बिदा थप गर्ने निर्णय गरेको हो ।

विशेषगरी बिहानको समयमा अत्यधिक चिसो, कुहिरो र न्यून तापक्रमका कारण विद्यालय आवागमन जोखिमपूर्ण बन्दै गएको शिक्षा शाखाको भनाइ छ ।

उपमहानगरपालिकाले उक्त निर्णयबारे जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा तथा प्यावसनसहित सम्बन्धित निकायहरूलाई समेत जानकारी गराइसकेको छ ।

अभिभावक तथा विद्यालय प्रशासनलाई विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन उपमहानगरपालिकाले आग्रह गरेको छ ।